images
images
  • बादलको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेता पद धरापमा

    काठमाडौं– रामबहादुर थापा (बादल) को अभिव्यक्तिलाई लिएर नेकपा एमाले भित्र तरंग उत्पन्न भएको छ ।

    पार्टीले कार्यवाहक अध्यक्षसमेत रहेका थापालाई पार्टीको मूल्य–मान्यता विपरीत जथाभावी अभिव्यक्ति नदिन सचेत गराउने तयारी गरेको छ ।

    एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ, जहाँ थापाले संसदमा दिएको विवादित अभिव्यक्तिबारे गम्भीर छलफल हुने बताइएको छ ।

    एक नेताका अनुसार, ‘बादलजीले संसदमा पार्टीको आधिकारिक लाइनभन्दा फरक धारणा राख्नुभयो । उहाँलाई संसदीय प्रक्रिया र पार्टी अनुशासनबारे सचेत गराइनेछ, ताकि भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिइयोस् ।’

    गत चैत १९ गतेको संसद बैठकमा थापाले जेनजी आन्दोलन र फागुन २१ को निर्वाचन परिणामलाई विभिन्न निकायहरूको मिलेमतो र षड्यन्त्रको परिणामका रूपमा व्याख्या गरेका थिए ।

    उनले नेपाली सेना, प्रशासनिक संयन्त्र तथा विदेशी निकायसम्मलाई आरोपित गर्ने अभिव्यक्ति दिएका थिए, जुन पार्टीको स्थापित धारणा विपरीत भएको एमाले नेताहरूको भनाइ छ ।

    उनको अभिव्यक्तिपछि पार्टीभित्रै असन्तोष देखिएको छ ।

    एमाले उपाध्यक्ष विष्णु पौडेलले यस विषयमा सचिवालय बैठकमा गम्भीर छलफल गरी ‘उचित निर्णय’ लिइने बताएका छन् ।

    थापा हाल समानुपातिक सांसद हुन् र पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेताको जिम्मेवारी सम्हालिरहेका छन् ।

    यसैबीच, एमालेकै नेता सुरेन्द्र पाण्डेले पनि अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै पछिल्लो राजनीतिक अवस्थाका लागि अन्यलाई मात्र दोष दिनु उचित नहुने बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘षड्यन्त्रका कथा सुनाएर सबै दोष अरूलाई थोपर्ने प्रवृत्ति गलत हो । यो अवस्था सिर्जना हुनुमा हाम्रो आफ्नै कमजोरी र विगतको अकर्मण्यता पनि जिम्मेवार छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images