तेहरान– इरानले पुनः द्वन्द्व सुरु भए अमेरिकाको सामना गर्न थप विकसित र आधुनिक हवाई प्रतिरक्षा प्रणाली तैनाथ गर्ने जनाएको छ । इरानी रियर एडमिरल हबीबुल्लाह सय्यारीले पछिल्ला दुई वर्षको द्वन्द्वबाट हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्नु इरानको प्रमुख प्राथमिकता भएको बताएका छन् ।
इरानको समाचार संस्था तस्निमसँग कुरा गर्दै सय्यारीले इरानले नयाँ हवाई प्रतिरक्षा प्रणाली विकास गरिसकेको र त्यसको प्रयोगबाट यसअघि नै ठूलो क्षति पुर्याउन सफल भएको दाबी गरे । उनले कुनै पनि आक्रमण भए अमेरिकाले इरानका नयाँ प्रतिरक्षा प्रणालीको प्रभाव र क्षमता प्रत्यक्ष अनुभव गर्ने चेतावनीसमेत दिएका छन् ।
यसैबीच, इरानी सञ्चारमाध्यम मेहरका अनुसार यस वर्ष द्वन्द्व सुरु भएयता इरानले अमेरिकाका ७८ वटा ड्रोन खसालेको दाबी गरेको छ । यता, द वासिङ्टन पोस्टले अगस्टमा प्रकाशित गरेको एक अपुष्ट समाचारअनुसार युद्धका क्रममा अमेरिकाले कम्तीमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको थियो ।
एउटा एमक्यू–९ रिपर ड्रोन निर्माण गर्न ५ करोड अमेरिकी डलरसम्म खर्च हुने बताइएको छ । यद्यपि, इरानले ७८ वटा अमेरिकी ड्रोन खसालेको दाबी र अमेरिकाले ४५ वटा एमक्यू–९ रिपर गुमाएको विवरण स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् । –अलजजीरा






















