images
images
  • तीन समस्याग्रस्त सहकारीका २८ स्थानका जग्गा लिलाम गरिँदै

    काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारी संस्थाको नाममा विभिन्न जिल्लामा रहेका २८ स्थानका जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । समितिले हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, लालिगुराँस बहुउद्देश्यीय सहकारी र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीको नाममा रहेका जग्गा बिक्रीका लागि सूचना सार्वजनिक गरेको हो ।

    समितिका अनुसार हाम्रो सगरमाथा सहकारीको गोरखास्थित दुई स्थानमा रहेको जग्गा लिलाम गरिनेछ । त्यस्तै, लालिगुराँस सहकारीको गोरखा, चितवन, ललितपुर र सिन्धुपाल्चोकमा रहेका ६ स्थानका जग्गा बिक्री गरिनेछ । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीको भने सिन्धुलीको जिनाखु–८ मा रहेका २० स्थानका जग्गा लिलाम गर्ने तयारी छ ।

    सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट असुल गर्नुपर्ने साँवा, ब्याज र हर्जाना उठाउन कानुनी प्रक्रिया अघि बढाउँदा पनि दायित्व पूरा नभएपछि सहकारीकै नाममा रहेको सम्पत्ति बिक्री गर्न लागिएको समितिले जनाएको छ । जग्गा बिक्रीबाट प्राप्त रकम बचतकर्ताको बचत फिर्ता गर्ने प्रयोजनमा उपयोग गरिनेछ ।

    जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था तथा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्रदाताले समितिले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा कम रकम प्रस्ताव गर्न पाउने छैनन् ।

    सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को व्यवस्थाअनुसार अघि बढाइएको लिलाम प्रक्रियामार्फत समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्य समितिले राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images