images
images
  • अमेरिकी एफ–१६ विमानलाई इरानी हवाई प्रतिरक्षा प्रणालीले फर्काएको इरानको दाबी

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले हेंगाम टापुनजिक अमेरिकी सेनाको एफ–१६ लडाकु विमानलाई आफ्नो उन्नत हवाई प्रतिरक्षा प्रणालीले चेतावनीस्वरूप गोली चलाएर फर्काएको दाबी गरेको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले अमेरिकी लडाकु विमान इरानको हवाई क्षेत्रनजिक पुगेपछि प्रतिरक्षा प्रणालीले चेतावनी दिएको जनाएको छ ।

    आईआरजीसीका अनुसार उक्त एफ–१६ विमान हेंगाम टापुको दक्षिणपूर्वी समुद्री क्षेत्रमा इरानी हवाई क्षेत्रतर्फ अघि बढेको थियो । समुद्री नियम उल्लंघन गर्ने जहाजलाई सुरक्षा तथा हवाई निगरानी प्रदान गर्ने क्रममा विमान त्यहाँ पुगेको इरानको दाबी छ ।

    इरानी हवाई प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाएपछि अमेरिकी विमानले अचानक दिशा परिवर्तन गर्दै पछि हटेको आईआरजीसीले जनाएको छ । आईआरजीसीले होर्मुज जलडमरूमध्यमा लागू समुद्री यातायात नियन्त्रणसम्बन्धी नियम छल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ ।

    यस्ता गतिविधि जारी रहे त्यसमा संलग्न पक्ष र उनीहरूलाई सैन्य सहयोग गर्ने शक्तिले गम्भीर परिणाम भोग्नुपर्ने उसको भनाइ छ । इरानले आफ्नो हवाई क्षेत्रलाई अपरिवर्तनीय सुरक्षा सीमाका रूपमा व्याख्या गर्दै अमेरिकी विमानबाट हुने हवाई क्षेत्र उल्लंघनका प्रयासको निर्णायक जवाफ दिने चेतावनीसमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images