images
images
  • सुख्खायामका लागि १५० मेगावाट बिजुली किन्न प्राधिकरणले माग्यो बोलपत्र

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायामका लागि १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले सन् २०२७ को मार्च, अप्रिल र मे महिनाका लागि चौबिसै घण्टा (राउन्ड दि क्लक–आरटीसी मोड) विद्युत् आयात गर्न बोलपत्र आह्वान गरेको हो । बोलपत्रदाताले प्रतियुनिट ७.३४ भारतीय रुपैयाँभन्दा बढी नहुने गरी दर प्रस्ताव गर्नुपर्नेछ । तोकिएको सीमाभन्दा बढी दर प्रस्ताव भएमा बोलपत्र अस्वीकृत हुने प्राधिकरणले जनाएको छ ।

    खरिद गरिने विद्युत् ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनअन्तर्गत भारतको मुजफ्फरपुर सबस्टेसनमा ४०० केभी स्तरमा उपलब्ध गराउनुपर्नेछ । उक्त स्थानसम्मको प्रसारण शुल्क, विद्युत् चुहावट, ओपन एक्सेस र ट्रेड मार्जिनलगायत सम्पूर्ण खर्च बोलपत्रदाताले नै बेहोर्नुपर्नेछ ।

    हरेक वर्ष सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतको विद्युत् पावर एक्सचेन्ज (आईईएक्स) को डे अहेड मार्केट र रियल टाइम मार्केटबाट बिजुली खरिद गर्दै आएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका विद्युत् आयोजनामा क्षति पुर्‍याउँदा करिब ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । यसले आगामी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

    यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दर प्रस्ताव मागेको थियो । तीमध्ये पीटीसी ट्रेडिङ कम्पनीले प्रतियुनिट ६.९० भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८।५० भारतीय रुपैयाँ र एसजेभीएनले ९ भारतीय रुपैयाँ प्रस्ताव गरेका थिए ।

    सबैभन्दा कम दर प्रस्ताव गरेको पीटीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो । असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाउँदा भने कम्पनीले प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो ।

    गत वर्ष पनि सुख्खायामका लागि विद्युत् खरिद गर्न प्राधिकरणले पटकपटक बोलपत्र आह्वान गरेको थियो। त्यतिबेला प्रतियुनिट ६.९० भारतीय रुपैयाँभन्दा बढी दर प्रस्ताव गर्न नपाइने सर्त राखिएको भए पनि कुनै कम्पनीले प्रस्ताव पेस गरेका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images