इस्लामाबाद, पाकिस्तान– साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमण र खाडी क्षेत्रका अन्य मुलुकमा इरानका छिटपुट आक्रमण जारी रहेका बेला पाकिस्तान, साउदी अरब र टर्कीका उच्च अधिकारीहरू शुक्रबार इस्लामाबादमा भेटवार्ता गर्दैछन् । उनीहरूले तीन देशबीच भएको मक्का रक्षा सम्झौताको कार्यान्वयन र आपसी सुरक्षा सहकार्यबारे छलफल गर्नेछन् ।
गत अगस्ट ७ मा तीन देशले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि हुन लागेको यो तेस्रो उच्चस्तरीय बैठक हो । सम्झौताअनुसार तीनमध्ये कुनै एक सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनवटै राष्ट्रमाथि भएको आक्रमणका रूपमा लिइने व्यवस्था छ ।
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि गरेको आक्रमणपछि सुरु भएको व्यापक युद्धको पृष्ठभूमिमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसै साता एएफपी समाचार संस्थासँग कुरा गर्दै साउदी अरबको दक्षिणी क्षेत्रमा जारी अस्थिरता बैठकको प्रमुख एजेन्डा हुने बताएका थिए ।
उनले दक्षिणी साउदी क्षेत्रको अस्थिरता भन्नाले हुथी विद्रोहीको प्रभाव रहेको यमनलाई संकेत गरेका हुन् ।आसिफका अनुसार इस्लामाबादमा हुने बैठकमा तीनवटै देशका रक्षामन्त्री र परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।
बैठकको मुख्य चासो मक्का रक्षा सम्झौतामा गरिएको सामूहिक प्रतिरक्षाको प्रतिबद्धतालाई व्यवहारमा कसरी कार्यान्वयन गर्ने र क्षेत्रीय सुरक्षा चुनौतीको सामना गर्न तीन देशबीच कस्तो सैन्य तथा कूटनीतिक सहकार्य विकास गर्ने भन्नेमा केन्द्रित रहने अपेक्षा गरिएको छ । –जलजजीरा






















