images
images
  • होटलमा युवतीको शव फेला, सञ्चालक फरार

    काठमाडौं- मिथिला नगरपालिका-६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर-१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

    उनका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको छ ।

    घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

    फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएकोे छ ।

    घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images