images
images
  • इरानमा ग्यासको चरम अभाव, पेट्रोकेमिकल उद्योग संकटले अधिकांश प्लान्ट बन्द हुने

    तेहरान– इरानका पेट्रोकेमिकल उद्योगमा प्राकृतिक ग्यासको आपूर्ति तीव्र रूपमा घटेपछि उत्पादन प्रभावित भएको छ । ग्यास अभावका कारण ग्यासलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

    इरानी श्रम समाचार संस्था (आईएलएनए) का अनुसार आगामी केही दिनभित्रै ठूला प्रशोधन केन्द्रका अधिकांश उत्पादन इकाइ बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    इरानको राष्ट्रिय पेट्रोकेमिकल कम्पनीका ऊर्जा खपत अनुकूलन व्यवस्थापक अली रब्बानीले पेट्रोकेमिकल उद्योगमा ग्यास आपूर्ति दैनिक ३ करोड ५० लाख घनमिटरभन्दा कममा झरेको जानकारी दिएका छन् । जबकि यी उद्योगको दैनिक ग्यास खपत क्षमता ९ करोड घनमिटर रहेको छ ।

    रब्बानीका अनुसार आगामी ७२ घण्टाभित्र सबै मिथानोल उत्पादन इकाइ र अधिकांश अमोनिया–युरिया उत्पादन इकाइ बन्द गरिनेछ । जाडोयाम सुरु हुन लागेकाले सरकारले घरायसी प्रयोजन तथा तापका लागि ग्यास आपूर्तिलाई प्राथमिकता दिएको उनले बताएका छन् ।

    यसैबीच, इरानमा विद्युत् आपूर्तिमा समेत कटौती भइरहेको छ । अमेरिकासँगको युद्ध र इजरायलसँगको द्वन्द्वले देशको अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेको छ । तर, युद्ध सुरु हुनुअघि पनि इरानले प्राकृतिक ग्यासको अभाव र विद्युत् कटौतीको समस्या झेल्दै आएको थियो ।

    गत साता इरान सरकारकी प्रवक्ता फतेमेह मोहाजेरानीले यस वर्षको जाडोयाममा दैनिक ४३ करोड घनमिटरसम्म ग्यास अभाव हुन सक्ने चेतावनी दिएकी थिइन् । अघिल्ला वर्षहरूमा यस्तो अभाव दैनिक करिब ३० करोड घनमिटर रहने गरेको थियो ।

    ग्यास अभावले घरायसी उपभोगदेखि औद्योगिक उत्पादनसम्म प्रभावित हुने जोखिम बढाएको छ । विशेषगरी मिथानोल, अमोनिया र युरिया उत्पादनमा निर्भर पेट्रोकेमिकल क्षेत्र प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images