काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रूस र चीनले गरिरहेको भनिएको सहयोगको प्रभावलाई कम आँकलन गरेका छन् । तेहरानलाई गुप्तचर सूचना उपलब्ध गराउनु युद्धमा प्रत्यक्ष संलग्न हुनुजस्तो नभएको टिप्पणी गर्दै उनले इरानमाथि पुनः सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
अमेरिकाको फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा थ्याङ्क्सगिभिङका अवसरमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा वास्तविक संलग्नता भन्नाले सैन्य कारबाहीमा सहभागी हुनु बुझिने बताए । ‘उनीहरू संलग्न हुन सक्छन्, तर मेरो बुझाइमा संलग्नता भनेको गोली चलाउनु हो, केही सामान्य सूचना उपलब्ध गराउनु होइन,’ उनले भने ।
ट्रम्पले इरानसँग युरोपसम्म प्रहार गर्न सक्ने क्षमताका क्षेप्यास्त्र रहेको दाबीसमेत गरे । यद्यपि, वासिङ्टनले तेहरानलाई सम्झौता गर्ने अवसर अझै दिइरहेको उनको भनाइ थियो ।
उनले पछिल्ला केही दिनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि कुराकानी गरेको जानकारी दिए । यसैबीच, मध्यपूर्वका विभिन्न क्षेत्रमा तैनाथ अमेरिकी सैनिकसँग टेलिफोनमार्फत कुराकानी गर्दै ट्रम्पले इरानविरुद्धको युद्धमा उनीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।
साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा तैनाथ अमेरिकी सैनिकसँग पनि उनले संवाद गरेका थिए । ट्रम्पको यस्तो अभिव्यक्ति मध्यपूर्वमा क्षेत्रीय तनाव बढिरहेका बेला आएको हो ।
बिहीबार कुवेतले इरानको ड्रोन आक्रमणमा परी दुई जना इटालियन कामदारको मृत्यु भएको जनाएको थियो । तर, तेहरानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । –रोयटर्स






















