images
images
  • अमेरिकाले भेनेजुएला र इराकलाई ओपेक छाड्न दबाब दिएको खुलासा

    लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यस वर्ष भेनेजुएला र इराकलाई पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) छाड्न प्रोत्साहन गरेको खुलासा भएको छ । त्यतिमात्र होइन, अमेरिकाले भेनेजुएलालाई ओपेकको वार्षिक सदस्यता शुल्कसमेत तिर्न नदिएको पाइएको छ ।

    रोयटर्सले यस विषयसँग जानकार १० जनालाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार अमेरिकी प्रशासनको यो कदमले ओपेकका पाँच संस्थापक सदस्यमध्ये दुई देशलाई लक्षित गरेको छ । राष्ट्रपति ट्रम्पले लामो समयदेखि ओपेकमाथि तेलको मूल्य कृत्रिम रूपमा उच्च राखेको आरोप लगाउँदै आएका छन् ।

    अमेरिकी अधिकारीहरूले दुवै देशलाई तेल उत्पादन बढाउन र विदेशी लगानी भित्र्याउन प्रोत्साहित गरिरहेका बेला ओपेकको उत्पादन सीमासम्बन्धी नीतिले अमेरिकी योजनामा अवरोध पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

    साउदी युवराजको हस्तक्षेपपछि रोकियो भेनेजुएलामाथिको दबाब

    अमेरिकाले भेनेजुएलालाई ओपेकबाट बाहिरिन प्रोत्साहन गर्ने विषयमा त्यहाँका अधिकारीहरूसँग छलफल गरेको स्रोतहरूले बताएका छन् । गत जनवरीमा निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि अमेरिकी विदेश मन्त्रालयले वासिङ्टनमा भेनेजुएलाका अधिकारीहरूसँग यस विषयमा कुराकानी गरेको थियो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी ठूला तेल कम्पनीहरूलाई भेनेजुएलामा पुनः लगानी गरी तेल उत्पादन बढाउन चाहेका थिए । यसबाट पश्चिमी गोलार्धको ऊर्जा सुरक्षामा सहयोग पुग्ने उनको भनाइ थियो । तर, ओपेकका उत्पादन नीतिले उक्त योजनामा अवरोध पुर्‍याउन सक्ने अमेरिकी पक्षको चिन्ता थियो ।

    यद्यपि, साउदी अरबका युवराज मोहम्मद बिन सलमानले हस्तक्षेप गरेपछि ट्रम्प प्रशासनले भेनेजुएलालाई ओपेक छाड्न दबाब दिने विषय अघि नबढाएको स्रोतहरूले बताएका छन् । साउदी अरब ओपेकको सबैभन्दा ठूलो तेल उत्पादक तथा संगठनको प्रभावशाली नेतृत्वकर्ता हो । ट्रम्पले गत अगस्टमा भेनेजुएला ओपेकबाट बाहिरिने वा नबाहिरिने निर्णय उसकै हातमा रहेको बताएका थिए ।

    इराकमा पनि ओपेक छाड्ने विषय उठ्यो

    अमेरिकी अधिकारीहरूले यसै वर्ष गर्मीयाममा इराकका प्रधानमन्त्री अली फालेह अल(जैदीसँग पनि ओपेकबाट बाहिरिने विषयमा छलफल गरेका थिए । अमेरिकी तेल कम्पनी एक्सन मोबिल र शेभरोनले इराकमा ठूलो लगानी विस्तार गर्ने योजना बनाइरहेका बेला अमेरिकी अधिकारीहरूले इराकलाई ओपेक छाड्न प्रोत्साहन गरेको स्रोतहरूको भनाइ छ ।

    अमेरिकी अधिकारीहरूसँगको छलफलपछि प्रधानमन्त्री अल(जैदीले सरकारको बैठकमा इराकले ओपेक छाड्ने सम्भावनाबारे कुरा उठाएका थिए । तर, इराकको तेल मन्त्रालयले त्यसमा असहमति जनाउँदै संगठनमै कायम रहन र उत्पादन कोटा बढाउन पहल गर्न सुझाव दिएको थियो ।

    इराकको सत्तारूढ गठबन्धनका केही पक्ष भने अझै पनि ओपेक तथा ओपेक प्लसबाट बाहिरिने पक्षमा रहेको स्रोतहरूले बताएका छन् । उनीहरूले संगठनमा साउदी अरब र रुसको प्रभाव बढी रहेको ठान्ने गरेका छन् ।

    तेल आम्दानीमा अमेरिकाको प्रभाव

    भेनेजुएला र इराक दुवैको आर्थिक मामिलामा अमेरिकाको प्रभावशाली नियन्त्रण रहेको छ । मदुरो सत्ताच्युत भएपछि भेनेजुएलाको सरकारी कोषमा रहेको रकमको प्रयोगसम्बन्धी पहुँच अमेरिकाको नियन्त्रणमा छ । त्यस्तै, इराकको तेल बिक्रीबाट प्राप्त आम्दानी अझै पनि अमेरिकाको न्युयोर्कस्थित फेडरल रिजर्भ बैंकको खातामार्फत परिचालन हुँदै आएको छ । सन् २००३ मा इराकमाथि अमेरिकी आक्रमणपछि सुरु भएको यो व्यवस्था दुई दशकभन्दा बढी समय बितिसक्दा पनि कायम छ ।

    अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलालाई ओपेक सदस्यता शुल्क तिर्न रोकिएको विषयमा प्रत्यक्ष जवाफ दिएको छैन । तर, मदुरो सत्ताबाट हटेपछि स्थापना गरिएको अमेरिकी नियन्त्रणको खातामा रहेको सरकारी रकम प्रयोग गर्न अनुमति दिने वा नदिने अधिकार वासिङ्टनसँग रहेको स्वीकार गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भेनेजुएलाको अन्तरिम सरकारले रकम निकासाका लागि गर्ने अनुरोध स्वीकृत तथा निषेधित खर्चको सूचीका आधारमा समीक्षा गरिने बताएका छन् । अमेरिकी अधिकारीहरूले इराकसँगको छलफल भने ऊर्जा पूर्वाधार सुधार, उत्पादन वृद्धि र ऊर्जा ढुवानी सहज बनाउने विषयमा केन्द्रित रहेको बताएका छन् । ओपेकबाट बाहिरिने विषय उच्च तहको छलफलमा नउठेको उनीहरूको दाबी छ ।

    ओपेकको सदस्यता शुल्कसमेत रोकियो

    ओपेकका सदस्य राष्ट्रले सामान्यतया प्रत्येक वर्षको पहिलो त्रैमासिकमा सदस्यता शुल्क बुझाउने गर्छन् । यो रकम संगठनको भियनास्थित सचिवालयका कर्मचारीको तलब, अनुसन्धान तथा भ्रमण खर्चमा प्रयोग हुन्छ । संयुक्त राष्ट्रसंघमा जस्तो अर्थतन्त्रको आकारका आधारमा सदस्यता शुल्क निर्धारण गर्ने व्यवस्था ओपेकमा छैन । सबै सदस्यले समान रूपमा वार्षिक करिब २८ लाख युरो अर्थात् ३० लाख ८० हजार अमेरिकी डलर शुल्क बुझाउँछन् ।

    अमेरिकाले भेनेजुएलाको रकम अन्य महत्त्वपूर्ण काममा खर्च गर्न सकिने तर्क गरेको स्रोतले बताएका छन् । यद्यपि, ओपेकले सदस्यता शुल्क नबुझाएको आधारमा भेनेजुएलालाई निष्कासन गर्ने योजना नरहेको संगठनका दुई स्रोतले रोयटर्सलाई बताएका छन् । भेनेजुएलाको ओपेक सदस्यता शुल्क भुक्तानीसम्बन्धी अनुरोध अमेरिकाले ठ्याक्कै कहिले अस्वीकार गरेको हो भन्ने विषय भने रोयटर्सले पुष्टि गर्न सकेको छैन ।

    ओपेकको प्रभाव कमजोर हुँदै गएको चिन्ता

    सन् १९६० सेप्टेम्बरमा इराकको बग्दादमा स्थापना भएको ओपेकमा सुरुमा इराक, इरान, साउदी अरब, कुवेत र भेनेजुएला संस्थापक सदस्य थिए । विश्व तेल बजारमा पश्चिमी तेल कम्पनीहरूको प्रभाव कम गर्दै उत्पादक राष्ट्रको नियन्त्रण बढाउने उद्देश्यले संगठन स्थापना गरिएको थियो ।

    हाल ओपेकमा ११ सदस्य राष्ट्र छन् । रुससहितका अन्य तेल उत्पादक देशसँग मिलेर ओपेक प्लस गठबन्धन पनि सञ्चालन भइरहेको छ । यसले विश्व बजारमा तेल उत्पादनको समन्वय र व्यवस्थापनसम्बन्धी निर्णय गर्दै आएको छ ।

    सन् २०१९ यता ओपेकले चार सदस्य गुमाइसकेको छ । कतार सन् २०१९, इक्वेडर सन् २०२० र अंगोला सन् २०२४ मा संगठनबाट बाहिरिएका थिए । संयुक्त अरब इमिरेट्स ९यूएई० ले पनि यसै वर्ष उत्पादन सीमासम्बन्धी असन्तुष्टिका कारण ओपेक छाड्ने घोषणा गरेको थियो ।

    अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण सिर्जित अवरोधले विश्व तेल बजारमा ओपेकको हिस्सा हालै न्यून बिन्दुमा पुगेको समाचारमा उल्लेख छ । अमेरिकी कदमले संगठनभित्र थप दबाब सिर्जना गरेको भन्दै अल्पाइन म्याक्रोका प्रमुख भूराजनीतिक रणनीतिकार ड्यान अलामारिउले ओपेक विभाजनको जोखिम बढिरहेको बताएका छन् ।

    यसैबीच, ओपेकबाट बाहिरिए पनि भेनेजुएलाले हाल उत्पादन कोटाको पूर्ण पालना गर्नुपर्ने अवस्था छैन । वर्षौंदेखिको प्रतिबन्ध र व्यवस्थापकीय कमजोरीका कारण त्यहाँको तेल उत्पादन ऐतिहासिक स्तरबाट घटेको छ ।

    ओपेकका तथ्यांकअनुसार भेनेजुएलाले गत सेप्टेम्बरमा दैनिक करिब १२ लाख ब्यारेल तेल उत्पादन गरेको थियो । सरकारी तेल कम्पनी पीडीभीएसएले भने आगामी वर्षको अन्त्यसम्म उत्पादन दैनिक १५ लाख ब्यारेल पुर्‍याउने लक्ष्य राखेको छ ।

    सन् २०१७–२०१८ मा ओपेकले भेनेजुएलाका लागि दैनिक करिब २० लाख ब्यारेल उत्पादनको लक्ष्य निर्धारण गरेको थियो । उत्पादन पुनः उक्त स्तरमा नपुगेसम्म भेनेजुएला कोटा प्रणालीमा फर्किने सम्भावना न्यून रहेको स्रोतले बताएका छन् । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images