काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (मंसिर ११ गते) ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजेसम्म हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत मात्र बोलकबोलमा सहभागी हुन सक्नेछन् । उक्त उपकरण आजै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी माघ १३ गते हुनेछ ।
प्रतिस्पर्धाबाट ब्याजदर निर्धारण
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । सहभागी बैंक तथा वित्तीय संस्थाले विभिन्न ब्याजदरमा बोलकबोल गर्न सक्नेछन् । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदरमा परेको बोल रकमसमेत जोड्दा निष्काशित रकमभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ ।
१० करोडदेखि ४० अर्बसम्म बोलकबोल गर्न पाइने
यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने गरी कुल आह्वान रकम ४० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ ।
यस उपकरणमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । साथै, निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
राष्ट्र बैंकले निक्षेपको अवधि पूरा हुनुअघि रकम फिर्ता नगर्ने जनाएको छ । बोलपत्र स्वीकृत भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाताबाट सोझै कट्टा हुनेछ । खातामा पर्याप्त रकम नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ ।






















