काठमाडौं – ग्लोबल आईएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आफ्नो नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँ मूल्य तोकेर उक्त सेयर बिक्रीका लागि रिलायबल नेपाल लाइफमा निवेदन दिएको हो । बैंक रिलायबल नेपाल लाइफको संस्थापक सेयरधनी हो ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले इच्छुक संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन माग गरेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता र कबोल गरेको रकम खुलाएर आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्ने छ ।
व्यक्ति वा संस्थाका तर्फबाट आवेदन दिँदा आवश्यक कागजातसमेत पेस गर्नुपर्ने कम्पनीले जनाएको छ। संस्थाका तर्फबाट आवेदन दिनेले दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली र स्थायी लेखा नम्बर ९प्यान० लगायतका कागजात बुझाउनुपर्नेछ ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सबै सेयर बिक्री हुन नसके बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँका आधारमा कुल मूल्य एक अर्ब १६ करोड ९२ लाख ८० हजार रुपैयाँभन्दा बढी हुन्छ । यो मूल्य न्यूनतम बिक्री मूल्यका आधारमा गरिएको गणना हो ।






















