काठमाडौं – त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले अतिक्रमित जग्गा खाली गरी फिर्ता गर्न अनधिकृत रूपमा भोगचलन गर्दै आएका संघसंस्था, निकाय तथा व्यक्तिलाई सात दिनको समयसीमा दिएको छ। यसअघि ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि जग्गा फिर्ता नभएपछि विश्वविद्यालयले पुनः ताकेता गरेको हो।
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ को प्रतिवेदनमा अतिक्रमणमा परेको उल्लेख भएका तथा अन्य अनधिकृत रूपमा भोगचलन भइरहेका जग्गा खाली गर्न पत्राचार गरिएको रजिस्ट्रार रविन्द्र शिवाकोटीले बताए । सरकारी निकायसँग समन्वय गरेर जग्गा प्रयोग गरिरहेका संस्थासँग भने छलफल भइरहेको उनले जानकारी दिए ।
“आफूखुसी जग्गा कब्जा गरेर बसेका संघसंस्था, निकाय र व्यक्तिलाई खाली गर्न पत्राचार गरेका छौँ,” शिवाकोटीले भने, “सरकारी निकायको समन्वयमा जग्गा प्रयोग गरिरहेकाहरूसँग छलफल गरेर कानुनी सम्झौताको प्रक्रियामा जाने तयारी छ ।”
त्रिवि रजिस्ट्रार कार्यालयले दिएको सातदिने समयसीमा आगामी सोमबारदेखि पूरा हुनेछ । त्यस अवधिमा पनि जग्गा खाली नगरे सरकारको सहयोगमा अतिक्रमण हटाउने तयारी गरिएको त्रिवि पदाधिकारीले बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलले अतिक्रमित जग्गा खाली गराएर विवरण उपलब्ध गराउन निर्देशन दिएको उनीहरूको भनाइ छ ।
त्रिवि सामान्य प्रशासन महाशाखाले विश्वविद्यालयको मूल गेटअगाडिको पेट्रोल पम्प, बागबानी, नर्सरी र राधास्वामी सत्संग केन्द्रलाई जग्गा खाली गर्न सातदिने पत्र पठाएको छ । गत वैशाख पहिलो साता ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेकालाई आवश्यक परे बल प्रयोग गरेर भए पनि हटाउने तयारी रहेको महाशाखाका उपप्रशासक भोजकुमार बस्नेतले बताए ।
कर्मचारी तथा प्राध्यापक संघलाई प्रयोग गर्न दिइएको जग्गा भाडामा लगाएर पेट्रोल पम्प सञ्चालन गरिएको छ । त्यस्तै, नर्सरी तथा होटलसमेत सञ्चालनमा छन् । राधास्वामी सत्संग केन्द्रले पनि त्रिविको जग्गा भोगचलन गर्दै आएको छ । केही संस्थाले जग्गा फिर्ता गर्न तयार रहेको पत्र पठाए पनि अतिक्रमण कायमै रहेको बस्नेतले बताए ।
केही संस्थालाई सम्झौता गरेर जग्गा प्रयोग गर्न दिने तयारी
त्रिविले जग्गा प्रयोग गरिरहेका सबै संस्था तथा निकायलाई हटाउने योजना भने बनाएको छैन । त्रिवि क्रिकेट रंगशाला, ल्याबोरेटरी स्कुल, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौं अनुसन्धान तथा शिक्षा केन्द्र (केसीआरई) र कीर्तिपुर नगरपालिकासँग छलफल गरी कानुनी सम्झौतामार्फत जग्गा प्रयोग गर्न दिने तयारी छ । विश्वविद्यालयको जग्गा करिब दुई दर्जन संघसंस्था, निकाय र व्यक्तिले भोगचलन गर्दै आएका छन् ।
त्रिवि क्रिकेट रंगशाला नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौतामार्फत भाडामा लिएको थियो । गत असारदेखि सम्झौताको म्याद सकिएको छ । रंगशाला सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गर्ने विषयमा छलफल भइरहेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख दीपेन्द्र पराजुलीले बताए ।
ल्याबोरेटरी स्कुललाई त्रिविको शिक्षाशास्त्र संकायअन्तर्गत अभ्यास शिक्षण गर्ने विद्यालयका रूपमा सञ्चालन गर्ने योजना छ । शिक्षा मन्त्रालयसँग सम्झौता गरेर केही व्यक्तिले त्रिविको १०८ रोपनी जग्गामा विद्यालय स्थापना गरेका थिए । अब विद्यालयको गुठीमा त्रिविका अधिकारीसमेत सहभागी गराएर सञ्चालन गर्ने तयारी छ । प्रस्तावित व्यवस्थाअनुसार सात सदस्यीय गुठीमा त्रिविका चार र हालका सञ्चालकका तर्फबाट तीन जना प्रतिनिधि रहनेछन् ।
राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुर नगरपालिका र केसीआरईसँग पनि सम्झौता गरेर मात्रै जग्गा प्रयोग गर्न दिने त्रिविले जनाएको छ । व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) सँगको सम्झौतामा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको थियो । केन्द्रको जग्गा भोगचलनसम्बन्धी सम्झौता नवीकरण भएको छैन । जेनजी आन्दोलनमा आगजनी भएपछि कीर्तिपुर नगरपालिका त्रिविको भवनमा सञ्चालन हुँदै आएको छ । केसीआरई त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार स्थापना गरिएको थियो ।
त्रिविको करिब २ हजार ४ सय रोपनी जग्गा अतिक्रमणमा
यसअघि गत कात्तिक १८ गते शिक्षामन्त्री पोखरेलले त्रिविको अतिक्रमित ७०५ रोपनी जग्गा फिर्ता भएको भन्दै सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । तर, कहाँको कति जग्गा फिर्ता भएको हो भन्ने विवरण सार्वजनिक नभएको भन्दै प्राध्यापक तथा विद्यार्थीले आलोचना गरेका थिए । केही संस्थाले जग्गा फिर्ता गर्न तयार रहेको पत्र पठाएकै आधारमा अतिक्रमण हटेको प्रचार गरिएको भन्दै प्रश्न उठेपछि त्रिविले पुनः जग्गा खाली गराउन ताकेता गरेको कर्मचारीहरूको भनाइ छ ।
सरकारले २०८१ मा त्रिविको जग्गा खोजबिन गर्न छानबिन समिति गठन गरेको थियो । समितिले विश्वविद्यालयको करिब २ हजार ४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण भएको औँल्याएको छ । समितिका अनुसार त्रिविको केन्द्रीय कार्यालय कीर्तिपुर आसपास करिब एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको छ । क्याम्पस तथा अन्य स्थानमा थप एक हजार रोपनी अतिक्रमण भएको छ भने ललितपुरको पुल्चोक क्षेत्रमा त्रिविको नाममा रहेको करिब ४ सय रोपनी जग्गा वर्षौँदेखि विश्वविद्यालयको भोगचलनबाहिर छ । –कान्तिपुर






















