काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आठ महिनामा १३ वटा अध्यादेश जारी गरेको छ । ती अध्यादेशबाट १५५ वटा प्रचलित ऐन संशोधन भएका छन् भने तीनवटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन् ।
संसद्को बर्खे अधिवेशन अन्त्य भएपछि सरकारले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश कात्तिक १७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रेस स्वतन्त्रतामा असर पर्ने भन्दै नेपाल पत्रकार महासंघलगायतका सरोकारवालाले विरोध जनाएपछि उक्त अध्यादेश तीन सातादेखि राष्ट्रपति कार्यालयमै रोकिएको छ ।
राष्ट्रपति कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोगसम्बन्धी अध्यादेश पनि विचाराधीन छन् । सरकारले यी अध्यादेशको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
संसदीय अभिलेखअनुसार वर्तमान सरकारले संसद्बाट १२ वटा ऐन बनाएको छ । तीमध्ये ६ वटा अध्यादेश प्रतिस्थापन गर्ने विधेयक, तीनवटा बजेटसम्बन्धी र बाँकी तीनवटा विषयगत ऐन हुन् । विषयगत ऐनमध्ये दुईवटा अघिल्लो सरकारका पालामा संसद्मा पुगेका विधेयकबाट बनेका हुन् ।
सरकारले बर्खे अधिवेशनअघि आठवटा अध्यादेश जारी गरेको थियो । तीमध्ये चारवटा प्रतिस्थापन विधेयकमार्फत ऐन बनेका छन् भने चारवटा निष्क्रिय भएका छन् । अधिवेशन अन्त्यपछि थप आठवटा अध्यादेश सिफारिस गरिएकामा पाँचवटा जारी भएका छन् ।
अध्यादेशमार्फत सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी व्यवस्था ल्याउँदा २४ वटा ऐन संशोधन र ७७ वटा ऐनका दफा खारेज भएका थिए । उक्त व्यवस्थाबाट १ हजार ५०० भन्दा बढी सार्वजनिक पदाधिकारी पदमुक्त भएका थिए ।
विपक्षमा रहँदा अध्यादेशको प्रयोगको विरोध गरेको रास्वपा सत्तामा पुगेपछि आफैं अध्यादेशमार्फत कानुन संशोधनमा लागेको भन्दै आलोचना भएको छ ।
संविधानविद् भीमार्जुन आचार्यले संसद्मा सहज बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु प्रश्नयोग्य भएको बताएका छन् । उनका अनुसार विपक्षमा हुँदा रास्वपाले उठाएका संसदीय प्रक्रिया र विधिको शासनसम्बन्धी प्रश्न जायज भए पनि सत्तामा पुगेपछि उस्तै अभ्यास दोहोरिएको छ ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भने संसद्को नियमित अधिवेशन नभएका बेला अध्यादेश ल्याउन संविधानले अनुमति दिएको बताएका छन् । सरकारले भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र विकास निर्माणलाई तीव्रता दिन अध्यादेश ल्याएको उनको दाबी छ ।
यद्यपि, संसद्लाई नै कानुन निर्माणको मुख्य थलो बनाउनुपर्नेमा सरकार अध्यादेशमा निर्भर भएको भाष्य बन्न नदिन सचेत हुनुपर्ने उनले बताएका छन् ।






















