काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । प्रतियोगितामा बागमती प्रदेश र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) टोलीले पदक तालिकामा वर्चस्व कायम राखेका छन् ।
नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा ३४ इभेन्टका खेल सम्पन्न हुँदा बागमती प्रदेशले १२ स्वर्ण, सात रजत र सात कांस्य गरी २६ पदक जितेको छ । नौ स्वर्ण, तीन रजत र तीन कांस्यसहित १५ पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ ।
नेपाल आर्मी क्लबले छ स्वर्ण, १० रजत र १३ कांस्य गरी २९ पदक जितेको छ । नेपाल पुलिस क्लबले चार स्वर्ण, ११ रजत र १२ कांस्य गरी २७ पदक हात पारेको छ । कोशी प्रदेशले दुई स्वर्ण जित्दा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, तीन रजत र एक कांस्य गरी पाँच पदक जितेको छ ।
बिहीबारको खेलमा एनआरएनएकी लिली बोहराले महिला १ हजार ५०० मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुभयो। उनले १८ मिनेट ४.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते । पुरुष २०० मिटर व्यक्तिगत ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले पनि आफ्नै कीर्तिमान सुधार गर्नुभयो। उनले यसअघि कायम गरेको २ मिनेट ३४.७४ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण जिते ।
पुरुष १०० मिटर बटरफ्लाइमा बागमती प्रदेशका अभिभ प्रधानले ५८.२२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । यसअघि गौरीका सिंहले सन् २०१७ मा १ मिनेट ७.६९ सेकेन्डको कीर्तिमान कायम गरेको थियो । पुरुष ५० मिटर ब्याकस्ट्रोकमा पनि अभिभले आफ्नै नाममा रहेको २८.९९ सेकेन्डको कीर्तिमान सुधार गर्दै २८.९५ सेकेन्डमा दूरी पूरा गरे । उनले यस स्पर्धामा पनि स्वर्ण पदक जिते ।
चार गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशको टोलीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको छ । अभिभ प्रधान, बन्तबहादुर श्रेष्ठ, आरेक कर्माचार्य र वशिष्ठराज शाही सम्मिलित टोलीले ३ मिनेट ४५.७५ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएको हो । यसअघि बागमतीकै अभिभ प्रधान, जाडेन श्रेष्ठ, अल्भिन महर्जन र रेभन्तबहादुर श्रेष्ठको टोलीले ३ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान कायम गरेको थियो । तीन दिनको खेलमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडी पनि अभिभ प्रधान बन्नुभएको छ । उनले व्यक्तिगत स्पर्धामा छ र रिलेमा दुई गरी कुल आठ स्वर्ण पदक जितेको छ ।






















