काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। प्रतियोगिताको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ ।
नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा बुधबार सम्पन्न २२ इभेन्टपछि बागमतीले नौ स्वर्ण, चार रजत र छ कांस्य गरी कुल १९ पदक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले छ स्वर्ण, एक रजत र दुई कांस्य गरी नौ पदक जितेको छ ।
नेपाल आर्मी क्लबले तीन स्वर्ण, सात रजत र आठ कांस्य गरी १८ पदक जित्दा नेपाल पुलिस क्लबले दुई स्वर्ण, आठ रजत र आठ कांस्यसहित १८ पदक हात पारेको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई रजत तथा कोशी प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको दोस्रो दिन महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नौ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । यसअघि उक्त विधामा डुवाना लामाको नाममा नौ मिनेट १०६.९२ सेकेन्डको कीर्तिमान रहेको थियो। लामाले सन् २०२५ मा काठमाडौंमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएकी थिइन् ।
पुरुष ४०० मिटर व्यक्तिगत मेड्लेमा सुदूरपश्चिमका अथर्व सिंहलले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका छन्। उनले चार मिनेट ५६.७६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते। यसअघि उनको नाममा चार मिनेट ५८.३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो ।
त्यस्तै, पुरुष १०० मिटर ब्याकस्ट्रोकमा बागमती प्रदेशका अभिभ प्रधानले एक मिनेट १.५१ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले स्वर्ण पदकसमेत जिते। यसअघि उक्त विधाको कीर्तिमान प्रारम्भ भण्डारीको नाममा थियो। भण्डारीले सन् २०२५ मा काठमाडौंमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा एक मिनेट ३.३९ सेकेन्डको समय निकालेका थिए ।
पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ, आरुष अवाले, मायोन श्रेष्ठ र कल्किन श्रेष्ठ सम्मिलित टोलीले आठ मिनेट ३२.१३ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएको हो । यसअघि मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङ सम्मिलित टोलीका नाममा नौ मिनेट १७.६८ सेकेन्डको कीर्तिमान थियो ।






















