काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वीरेन्द्रनगरस्थित मुख्य कभर्डहलमा जारी बक्सिङको पहिलो चरणका खेल बिहीबार सम्पन्न भएका छन् । महिला र पुरुषतर्फ भएका ३४ बाउटको नतिजासँगै शुक्रबार हुने क्वाटरफाइनलका खेलाडीको टुङ्गो लागेको छ ।
पहिलो चरणमा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । विभिन्न तौल समूहमा जित निकाल्दै उनीहरूले क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रदेशतर्फ आयोजक कर्णालीसहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिमका खेलाडी पनि अघिल्लो चरणमा पुगेका छन् ।
पुरुषतर्फ ५० केजीमा एपीएफका लक्ष्मण राईले लुम्बिनीका लक्ष्मण चन्दलाई ५–० ले पराजित गरे । कर्णालीका मोहन गुरुङले गण्डकीका आकाश रानालाई ३–२ ले हराए । ५५ केजीमा कर्णालीका रोहन सारुले बागमतीका मदनकृष्ण डंगोललाई दोस्रो राउन्डमा आरएससी–आईका आधारमा पराजित गर्दा कोशीका फुङ्लाङ काम्बाङले आर्मीका बलबहादुर खड्कालाई ४–१ ले हराए ।
६० केजीमा आर्मीका खगेन्द्र रोका मगरले गण्डकीका चन्द्रबहादुर थापालाई दोस्रो राउन्डमा आरएससीका आधारमा तथा एपीएफका विक्रम परियारले मधेशका उत्सव बस्नेतलाई ५–० ले पराजित गरे । ६५ केजीमा पुलिसका सोहन राईले गण्डकीका मानबहादुर हमाल र आर्मीका नितेश नेपालीले कोशीका अनिश भुजेललाई समान ५–० ले हराए। यही तौल समूहमा मधेशका ससिन शाक्य अनुपस्थित भएपछि सुदूरपश्चिमका विनोद नगरजीले वाकओभर पाए ।
७० केजीमा पुलिसका सुजन पौडेलले कोशीका सुनिल कार्कीलाई दोस्रो राउन्डमा नकआउट गरे। एपीएफका विक्रम चौधरीले गण्डकीका निशान गुरुङलाई ५–० र सुदूरपश्चिमका भरत चन्दले मधेशका भुवन सुस्लिङलाई पहिलो राउन्डमै आरएससीका आधारमा पराजित गरे ।
७५ केजीमा मधेशका मनिषकुमार चौधरीले पुलिसका रिवाज तामाङलाई ५–०, एपीएफका सुमन कार्कीले सुदूरपश्चिमका उदिप भण्डारीलाई ४–१ र गण्डकीका रविन गुरुङले बागमतीका अभिषेक श्रेष्ठलाई ४–१ ले हराए। ८० केजीमा एपीएफका झलक रोकायले गण्डकीका अमिश थापालाई ४–१ र सुदूरपश्चिमका बालकृष्ण सुनारले लुम्बिनीका चन्द्रज्योति थापा मगरलाई ५–० ले पराजित गरे ।
८५ केजीमा गण्डकीका किरण विकले पुलिसका सम्राट थापा क्षेत्रीलाई ४–० ले हराए भने आर्मीका मदन कार्कीले मधेशका सुरज बेल्दारबाट वाकओभर पाए। ९० केजीमा कर्णालीका विजयबाबु सुनारले खेल छाडेपछि कोशीका रियाज ढकाल विजयी भए। लुम्बिनीका अभिषेक बुढाथोकीले खेल त्यागेपछि आर्मीका पिताम्बर थापा विजयी भए ।
९० केजीमाथि गण्डकीका सौगात गुरुङले सुदूरपश्चिमका ललित भट्टलाई दोस्रो राउन्डमा आरएससीका आधारमा तथा आर्मीका गणेश प्रधानले बागमतीका विवेश बासुलाई पहिलो राउन्डमै एबीडीका आधारमा पराजित गरे ।
महिलातर्फ ४८ केजीमा कोशीकी मनिषा राईले लुम्बिनीकी सुहानी श्रेष्ठलाई ५–० र आर्मीकी आरती बोम्जनले सुदूरपश्चिमकी भगवतीकुमारी साउदलाई तेस्रो राउन्डमा आरएससीका आधारमा हराइन् । ५१ केजीमा आर्मीकी लालुमाया खत्री क्षेत्रीले कर्णालीकी सिम्रन रसाइलीलाई पहिलो राउन्डमै आरएससीका आधारमा पराजित गरिन् ।
५४ केजीमा कोशीकी मुस्कान तुलाधरले कर्णालीकी रोशनी बस्नेतलाई ५–० ले हराइन् भने लुम्बिनीकी उर्मिला बसेलले सुदूरपश्चिमकी दीपा रावलबाट वाकओभर पाइन्। ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी श्रेया योगीबाट वाकओभर पाइन् । एपीएफकी खिमा खतीले बागमतीकी प्रिक्षा लामालाई ५–० ले पराजित गरिन्। ६० केजीमा लुम्बिनीकी मुस्कान अग्रवालले गण्डकीकी रोमिया गुरुङलाई ५–० ले हराइन् ।
६५ केजीमा सुदूरपश्चिमकी सञ्जिता चौधरीले कोशीकी ग्रेस्टा श्रेष्ठलाई ५–० ले पराजित गरिन्। पुलिसकी लक्ष्मी घर्ती मगरले लुम्बिनीकी जेसिका पुरीले खेल त्यागेपछि जित हात पारिन् । ७५ केजीमा सुदूरपश्चिमकी प्रतिक्षा रोकायले कर्णालीकी शर्मिला मल्लबाट वाकओभर पाइन् । शुक्रबार बिहान ११ बजेदेखि क्वाटरफाइनलका खेल सञ्चालन हुनेछन्। प्राविधिक प्रतिनिधि पुष्करराज पन्तका अनुसार महिलातर्फ १७ र पुरुषतर्फ १८ गरी कुल ३५ क्वाटरफाइनल खेल हुनेछन् । – कान्तिपुर






















