काठमाडौं– मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा छापा मारेर प्रहरीले दुईवटा ल्यापटप बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराका अनुसार बरामद ल्यापटप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
अर्याललाई थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ ।
अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । उनी तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरको कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए ।
मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति थप १०० मलेसियन रिंगिट गैरकानुनी रूपमा असुल गरी एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको प्रकरणमा अर्याल पक्राउ परेका हुन् । प्रहरीले सात लाखभन्दा बढी श्रमिकबाट रकम उठाइएको र उक्त रकम १७ पटक गरी मलेसिया पठाइएको दाबी गरेको छ ।
यस प्रकरणमा यसअघि पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव तथा अन्य उच्च अधिकारी र निजी कम्पनीका सञ्चालक पक्राउ परिसकेका छन् । प्रहरीले ठगी तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ । अर्यालमाथि गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ ।






















