images
images
  • रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

    मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ । लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो ।

    रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गरेका थिए ।

    स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गरेको थियो । उनले यही चौतारीमा बसेर राराको सौन्दर्यबाट प्रभावित भई ‘हिमालमा नेपाल कहाँबाट झ¥यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता रचना गर्नुभएको स्थानीय बुढापाका बताउँछन् ।

    राजा महेन्द्रको भ्रमण र उनले राराको सुन्दरताबारे कविता रचना गरेको प्रसंगले चौतारीलाई ऐतिहासिक महत्व दिएको स्थानीय रोकायाले बताए । रारा ताललाई महेन्द्र तालका नामले समेत चिनिन्छ ।

    विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा क्रमशः जीर्ण बन्दै गएको थियो । यसको संरक्षण र पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेको उनले बताए ।

    चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत संघसंस्थाले सहयोग गरेका छन् ।

    रारा तालको किनारमा रहेको मिलिचौर खुला चौर र तालको मनोरम दृश्यका कारण पर्यटकको आकर्षणको केन्द्रका रूपमा परिचित छ । पुनर्निर्माणपछि महेन्द्र चौतारीले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    रारा आउने पर्यटक चौतारीमा बसेर तालको दृश्यावलोकन गर्ने तथा तस्बिर र श्रव्यदृश्य पनि खिच्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images