images
images
  • ट्रकले किच्दा ६४ वर्षीया महिलाको मृत्यु

    काठमाडौं – मकवानपुरको हेटौँडामा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक उनका श्रीमान् घाइते भएका छन् । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका–४ कर्रास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा हेटौँडा–४ श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल कर्रास्थित आफ्नै घरतर्फ मोडिने क्रममा अनियन्त्रित भएर सडकमा लडेको थियो । सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना.८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको बायाँ पछाडिको चक्काले मोटरसाइकलमा सवार पाठकलाई किचेको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक तथा मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी ४४ वर्षीय मनराज थोकर हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images