काठमाडौं– सुस्त अर्थतन्त्र र सरकारप्रति मतदाताको असन्तुष्टिका बीच भएको निर्वाचनपछि न्युजिल्यान्डको सत्तारूढ गठबन्धन संसद्मा बहुमत प्राप्त गर्न आवश्यक सिटभन्दा एक सिटले पछाडि परेको छ।
बहुमत जुटाउन अब गठबन्धनले मध्यमार्गी ओपोर्च्युनिटी पार्टीको समर्थन लिनुपर्ने भएको छ। उक्त पार्टीसँग सहमति हुन नसके न्युजिल्यान्डमा पुनः निर्वाचन हुन सक्ने सम्भावना छ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको सत्तारूढ नेशनल पार्टीले १३० सिटमध्ये ४० सिट जितेको छ। उसका गठबन्धन साझेदार एसीटी पार्टीले १३ र न्युजिल्यान्ड फर्स्टले १२ सिट प्राप्त गरेका छन्।
शुक्रबार सार्वजनिक आधिकारिक निर्वाचन परिणामअनुसार मध्य वामपन्थी लेबर पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि छैन। ओपोर्च्युनिटी पार्टीले समर्थन गरे पनि उक्त गठबन्धनसँग सरकार गठनका लागि आवश्यक सिट पुग्दैन।
प्रधानमन्त्री लक्सनले शुक्रबार सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण हुन सक्ने र त्यसका लागि केही समय लाग्ने स्वीकार गरेका छन्।
उनले पत्रकारहरूसँग भने, ‘हतारमा सम्झौता गरेर पछि त्यो असफल भएको देख्न वा देशलाई पुनः निर्वाचनमा पठाउन न्युजिल्यान्डका नागरिकले हामीलाई धन्यवाद दिने छैनन्।’
लेबर पार्टीका नेता क्रिस हिप्किन्सले आफ्नो पार्टीले उत्कृष्ट चुनावी अभियान सञ्चालन गरेको बताए। तर लोकप्रिय मत प्राप्त गरे पनि सरकार गठनका लागि वार्ता गर्ने अवस्थामा आफ्नो पार्टी नरहेको उनले स्वीकार गरे।
उनले भने, ‘यस निर्वाचनमा यथास्थितिको पक्षमा भन्दा परिवर्तनको पक्षमा धेरै न्युजिल्यान्डवासीले मतदान गरेका छन्।’
न्युजिल्यान्डको मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणालीका कारण त्यहाँ प्रायः गठबन्धन सरकार बन्ने गर्छ। यस प्रणालीमा प्रत्येक मतदाताले दुईवटा मत हाल्छन्। एउटा आफूले रोजेको राजनीतिक दलका लागि र अर्को आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिका लागि।
निर्वाचनमा लेबर पार्टीले ३६ सिट जितेको छ भने ग्रिन्स पार्टीले १७ र माओरी समुदायको हित प्रतिनिधित्व गर्ने ते पाती माओरीले पाँच सिट प्राप्त गरेका छन्।
यस निर्वाचनमा निर्णायक शक्तिका रूपमा हेरिएको ओपोर्च्युनिटी पार्टीले सात सिट जितेको छ। उक्त पार्टीकी नेता किउलाए वङले नेशनल पार्टीसँग सरकार गठनबारे वार्ता गर्ने बताएकी छन्। यद्यपि सबै विकल्प खुला रहेको उनको भनाइ छ।
शुक्रबार पत्रकारहरूसँग उनले भनिन्, ‘संसद्मा सातवटा राजनीतिक दल छन्। न्युजिल्यान्डलाई स्थिर सरकार दिन सक्दो प्रयास गर्नु सबैको जिम्मेवारी हो। यो जिम्मेवारी हाम्रो मात्रै होइन।’
निर्वाचन भएको दिन नोभेम्बर ७ मा सार्वजनिक प्रारम्भिक परिणामले नेशनल पार्टी र उसका गठबन्धन साझेदारहरूलाई वामपन्थी गठबन्धनभन्दा सामान्य अग्रता दिएको थियो।
तर शुक्रबार सार्वजनिक अन्तिम परिणाममा विशेष मत गणना गर्दा नेशनल पार्टीले दुई सिट गुमाएको देखिएको छ। निर्वाचनका दिन विदेशमा रहेका वा आफ्नो दर्ता भएको निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकले विशेष मत दिएका थिए। यस्ता मतले सामान्यतया वामपन्थी दलहरूलाई बढी समर्थन गर्ने गरेको पाइन्छ।
नेशनल पार्टीले निर्वाचनका क्रममा कर घटाउने, ऊर्जा सस्तो बनाउने, नवीकरणीय ऊर्जाको उत्पादन बढाउने र रक्षा क्षेत्रमा बढी ध्यान दिने प्रतिबद्धता जनाएको थियो।
यता लेबर पार्टीले स्वास्थ्य सेवा, सार्वजनिक यातायात र इन्धनको खर्च घटाउने तथा सामाजिक आवासका लागि सरकारी सहयोग बढाउनेलगायतका एजेन्डा अघि सारेको थियो।
निर्वाचनअघि बीबीसीसँगको कुराकानीमा धेरै मतदाताले देशमा बढ्दो महँगी, उच्च बेरोजगारी र राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वासप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
२१ वर्षीया इमोजेन भ्लुटगरले मतदातामा निराशा र उदासीनता बढेको बताएकी थिइन्।
त्यस्तै ४० वर्षीय एक पुरुषले मतपत्रमा रहेका कुनै पनि विकल्पमा मतदान गर्न मन नलागेकाले आफू निर्वाचनमा सहभागी नभएको बताएका थिए।
सार्वजनिक नीति अध्ययन गर्ने संस्था हेलन क्लार्क फाउन्डेसनको एक सर्वेक्षणअनुसार आधाभन्दा बढी न्युजिल्यान्डवासीले अब आफ्नो देशलाई अवसरको भूमि मान्न छाडेका छन्।
पछिल्लो समय न्युजिल्यान्ड छाडेर विदेश जाने नागरिकको संख्या पनि कीर्तिमानी रूपमा बढेको छ। देश छाड्नेहरूमध्ये पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्नसहित धेरै नागरिक अस्ट्रेलिया पुगेका छन्।






















