images
images
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।

    यस्तै बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने बताइएको छ ।  हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

    नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

    दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।

    प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images