काठमाडौं– नेपालको राजनीतिमा नयाँ शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसद्को नेतृत्व कसलाई दिने भन्ने प्रश्नले व्यापक चासो पाएको छ ।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेपछि सरकार र सभामुख दुवै पदमा रास्वपाको निर्णायक भूमिका देखिएको छ ।
सरकारको नेतृत्वका लागि बालेन्द्र शाह (बालेन) अगाडि बढ्दै गर्दा अब सभामुख चयन अर्को महत्वपूर्ण निर्णयका रूपमा उभिएको छ ।
सभामुखका लागि रास्वपाभित्र विभिन्न नामहरू चर्चामा छन् ।
उपसभापति डोलप्रसाद अर्याल, सांसद सोविता गौतम र प्रतिभा रावल मुख्य रूपमा चर्चामा रहेका छन् ।
रास्वपा सभापति रवि लामिछाने भने यसपटक अनुभवी र कानुनको राम्रो ज्ञान भएको व्यक्तिलाई सभामुख बनाउने पक्षमा देखिन्छन् ।
संवैधानिक परिषद्को शक्ति सन्तुलन, संसदीय अभ्यास र सभामुखको भूमिकालाई ध्यानमा राख्दै उनले सावधानीपूर्वक निर्णय लिने तयारी गरिरहेका छन् ।
भित्री छलफलअनुसार चितवन–३ बाट निर्वाचित सोविता गौतम सभामुखका लागि बलियो दाबेदार मानिन्छिन् ।
कानुन व्यवसायीको पृष्ठभूमि भएकी गौतम संसद् सञ्चालन र संवैधानिक जटिलता बुझ्न सक्षम भएकाले उनको नाम अघि आएको हो ।
यदि उनले अस्वीकार गरेमा प्रतिभा रावललाई विकल्पका रूपमा अघि सार्ने सम्भावना पनि रहेको छ ।
अर्कोतर्फ, डोलप्रसाद अर्याललाई मन्त्री बनाउने योजना पनि रहेको बताइन्छ ।
उनले गृह मन्त्रालयमा रुचि देखाएका छन्, र त्यो सम्भव नभए सभामुखको विकल्प खुला राखिएको छ ।
रास्वपाभित्र मन्त्री र सभामुख चयनबारे शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ ।
पार्टीका नेताहरूका अनुसार प्रधानमन्त्री नियुक्तिपछि मात्र सभामुखबारे अन्तिम निर्णय हुनेछ ।
अहिलेका लागि केही नामहरू चर्चामा आए पनि औपचारिक रूपमा कसैको टुंगो लागिसकेको छैन ।























