images
images
  • ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छ: माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । पुनस्र्थापित संसदलाई बचाउनुपर्ने र महामारी लगायतका चुनौतीको सामना गर्नुपर्ने भएकाले राष्ट्रिय सरकारको आवश्यकता रहेको नेता नेपालको भनाइ छ ।

    कोटेश्वरस्थित आफ्नै निवासमा बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा नेता नेपालले अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालले प्रधानमन्त्री देउवालाई आश्वस्त पारे ।एमाले नेता नेपालले आगामी चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्न आवश्यक रहेको औंल्याए ।

    यता बुधबार बालकोटबाट एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै माफी नदिइने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले अब पार्टी एकता र १० बुँदे सहमतिको स्थिति के होला भन्ने प्रश्नमा नेता नेपालले ओलीलाई ‘बर्बराउन छाडेर धर्तीमा उभिन’ सुझाव दिए । ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनले बताए ।

    ‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ बरिष्ठ नेता नेपालले भने, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ । निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’

    साथै मंगलबार साँझ शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रममा राष्ट्रपतिबाट अशोभनीय र विचित्रको व्यवहार भएको नेता नेपालले बताए ।

    नेता नेपालले गठबन्धनबाट आफूले बाहिरिएको घोषणा नगरेको स्पष्ट पारे । आफू गठबन्धनबाट बाहिरिएको भन्दै कतिपय विश्लेषकले माधव नेपाल धोकेबाज हुन् भनेको प्रति उनले आपत्तिसमेत जनाए । बुधबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

    नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए । नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images