images
images
  • मेघगर्जन र चट्याङ्गसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

    काठमाडौं । मनसुनी वायुका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने मौसमविदले बताएका छन् ।
    अहिले देशभर सामान्य बदली रही प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    काठमाडौंमा पनि आज मध्यान्ह्पछि पानी पर्ने जनाइएको छ । ‘काठमाडौंमा आज मध्यान्ह्पछि वर्षा हुने देखिएको छ । भारी वर्षा नभए पनि मध्यम वर्षा हुनेछ’, मौसमविद् निराजन सापकोटाले भने । भारी वर्षाको सम्भावना पनि रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    यसैबीच शनिबारबाट मनसुन थप सक्रिय हुने भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश–१ मा शनिबारबाट थप मनसुन सक्रिय हुने मौसमविद् सापकोटा बताउँछन् । ‘शनिबारबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश–१ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वागमती प्रदेशमा भने मंगलबारसम्म अहिले भइरहेजस्तै सामान्य वर्षाको सम्भावना रहेको देखिन्छ’, मौसमविद् सापकोटाले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images