काठमाडौ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो ।बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने सार्वजनिक यातायातका यात्रुबाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार यात्रुबाहक सवारी साधनको भाडा साविकको भाडादरमा २८ प्रतिशतले वृद्धि गरिएको छ भने, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।
विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर फ्युल (इन्धन)सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथा महँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखि मूल्य समायोजन गरिएको विभागले जनाएको छ ।
यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ को उपदफा ९१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले लिएको अधिकार प्रयोग गरी उक्त भाडा समायोजन गरिएको समेत विभागले सूचना मार्फत जानकारी दिएको छ ।



विश्व खबर 




















