काठमाडौं– प्रतिनिधिसभा निर्वाचन आउन १९ दिन मात्र बाँकी रहँदा शीर्ष नेताहरूले कहाँबाट मतदान गर्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ ।
यसपटक धेरै प्रभावशाली उम्मेदवारहरू आफैं उम्मेदवार भएको क्षेत्रबाट मतदान गर्न नपाउने अवस्थामा छन्, किनकि उनीहरूको मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक–फरक छन् ।
कानुनी व्यवस्थाअनुसार मतदान भने नाम दर्ता भएको केन्द्रमै गर्नुपर्ने हुन्छ ।
उदाहरणका रूपमा केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली भक्तपुर–२ मा छ ।
गगनकुमार थापा सर्लाही–४ बाट चुनाव लड्दै छन् तर नामावली काठमाडौं–४ मै रहेको छ ।
पुष्पकमल दाहाल रुकुम पूर्वबाट उम्मेदवार छन् तर मतदाता नाम चितवन–३ मा छ भने रवि लामिछाने चितवन–२ बाट उम्मेदवार भए पनि नामावली काठमाडौं–३ मा रहेको छ ।
त्यस्तै बालेन्द्र शाह, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ, प्रदीप पौडेल, शेखर कोइराला लगायतका नेताहरू पनि फरक क्षेत्रमा उम्मेदवार बनेकाले आफ्नै नाममा मत हाल्न नपाउने सूचीमा परेका छन् ।
यो अवस्था ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्ममा देखिएको छ ।























