काठमाडौं– अहिले बंगलादेशमा दुई विषयले चर्चा पाएको छ ।
पहिलो, पुरानो दल बीएनपीले आफ्नो प्रभुत्व कायम गर्दै एकल दुई तिहाइ जितेको छ ।
दोस्रो, चर्चित युवानेतृ तास्निम जाराको पराजय ।
जारा ढाका, क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रेकी थिइन् र भकुण्डो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिन् ।
सामाजिक सञ्जाल र मिडियामा उनको चर्चा निकै थियो, जसले उनका समर्थकमा जितको अपेक्षा बढाएको थियो ।
तर, अन्ततः उनी पराजित भइन् ।
बीएनपीका पाका नेता हाबिबुर रसिदले लाखौँ मत ल्याएर उनलाई पछि पार्न सफल भए ।
बीएनपीको चुनाव चिह्न धानको बाला हो ।
३१ वर्षकी जारा ढाकामै जन्मिएकी छन् र बंगलादेशकी चर्चित सार्वजनिक व्यक्तित्व हुन् ।
पेशाले चिकित्सक जारा सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय छिन् ।
उनका फेसबुक फलोअर्स मात्र ७५ लाख छन् ।
उनी विद्यार्थी आन्दोलनका समर्थक हुन् र बंगलादेशको राजनीतिक परिस्थितिपछि विश्वभरबाट निम्तो पाउँछिन् ।
हालै नेपालमा भएको हिन्दु कुश–हिमाल क्षेत्रका सांसदहरूको भेलामा पनि उनी बंगलादेशबाट सहभागी भएकी थिइन् ।
तर, संसद् विघटन भएको देशबाट आएका जाराको राजनीतिक यात्रा पहिलो पाइला नै चुनौतीपूर्ण रह्यो ।
उनी सन् २०१६ मा विवाह गरेकी छन्। उनका पति बंगलादेशका प्राविधिक क्षेत्रका उद्यमी र मानवअधिकारका सक्रियकर्मी हुन् ।
शैक्षिक दृष्टिले जारा विश्वका चर्चित विश्वविद्यालय क्याम्ब्रिज र अक्सफोर्डबाट शिक्षा प्राप्त गरेकी छन् ।
सन् २०२४ मा उनी जातीय नागरिक समितिबाट राजनीतिक सक्रियतामा बढी संलग्न भइन् ।
औपचारिक रूपमा उनी विद्यार्थी आन्दोलनकारीहरूले स्थापना गरेको ८नेसनल सिटिजन पार्टी (एनसीपी)सँग आबद्ध थिइन्, तर पछि दल छोडेर स्वतन्त्र उम्मेदवारी दिइन् ।
उनले कट्टर धार्मिक अतिवादी दल जमात–इ–इस्लामीसँगको गठबन्धन र विभिन्न मुद्दामा असहमति जनाउँदै एनसीपी छोडेकी हुन् र स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रेकी भन्ने चर्चा चलिरहेको छ ।
त्यस्तै नेपालमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा बालेन शाहले उम्मेदवारी दिएका छन् ।
उनी पनि नेपालमा सामाजिक सञ्जालमा भाइरल छन् । उनको ३५ लाखभन्दा बढी फ्लोअर्स छन् ।
झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि चुनावी मैदानमा छन् ।
यद्यपि झापा निर्वाचनबारे विभिन्न अड्कलबाजी भए पनि निर्वाचनको परिणाम कुर्नुको विकल्प छैन । त्यसपछि बालेनको हालतबारे बुझ्न सहज हुनेछ ।























