काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नी १३ वर्षीया छोरी किम जुएलाई उत्तराधिकारी बनाउने तयारी गरिरहेको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ ।
सत्तारूढ दल वर्कर्स पार्टी अफ कोरियाको फेब्रुअरी अन्त्यतिर हुने बैठकमा उनलाई औपचारिक रूपमा प्रमुख सदस्यहरू सामु प्रस्तुत गरिने सम्भावना औंल्याइएको छ ।
दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)ले सांसदहरूलाई दिएको बन्दकोठा ब्रिफिङमा किमले छोरीलाई क्रमशः राजनीतिक भूमिकामा अभ्यस्त गराउँदै लगेको संकेत दिएको बताइएको छ ।
किम परिवारको वंशानुगत शासन परम्परा निरन्तरता दिन छोरीलाई अघि सार्ने रणनीति हुन सक्ने विश्लेषण गरिएको छ ।
किम जुए सन् २०२२ नोभेम्बरमा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्, जतिबेला उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको थियो ।
त्यसयता उनी सैन्य परेड, हतियार परीक्षण अवलोकन, उद्योग–कारखाना उद्घाटन जस्ता कार्यक्रममा बुबासँगै देखिँदै आएकी छन् ।
गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि उनको उपस्थिति देखिएको थियो ।
साथै उनले प्योङयाङस्थित कुमसुसान सन प्यालेस भ्रमण गरी परिवारका पूर्व नेताहरूलाई श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
उत्तर कोरियामा सन् १९४८ यता किम वंशले नै शासन गर्दै आएको छ ।
संस्थापक नेता किम इल सुङ पछि उनका छोरा किम जोङ इल सत्तामा आए, र सन् २०११ मा उनको निधनपछि किम जोङ उन सर्वोच्च नेता बने ।
पछिल्ला वर्षहरूमा किमकी बहिनी किम यो जोङ पनि नेतृत्वदायी भूमिकामा सक्रिय देखिएकी छन् ।
यसैबीच, किम जुएलाई औपचारिक रूपमा उत्तराधिकारी घोषणा गर्ने वा प्रथम सचिव जस्तो शक्तिशाली पद दिने विषयमा नियमगत उमेरहद (१८ वर्ष) का कारण तत्काल निर्णय कठिन हुन सक्ने विश्लेषकहरूको मत छ ।
यद्यपि, पार्टी बैठकमा देखिने भाषण, नीतिगत दस्तावेज र सार्वजनिक सन्देशहरूले किम जुएलाई भविष्यको नेतृत्वतर्फ अघि सार्ने संकेत दिन सक्ने आँकलन गरिएको छ ।
उत्तर कोरियाली सरकारी मिडियाले उनको नाम औपचारिक रूपमा सार्वजनिक नगरे पनि सबैभन्दा प्रिय सन्तान भनेर उल्लेख गर्ने गरेको छ, जसले उनलाई विशेष स्थानमा राखिएको संकेत दिन्छ ।


विश्व खबर 




















