images
images
  • देउवा निष्क्रिय हुँदा डडेल्धुरामा कांग्रेस धरापमा : जित निकाल्ने दाउमा एमाले, नेकपा र स्वतन्त्र

    डडेल्धुरा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा आफ्नो परम्परागत आधार जोगाउन नेपाली कांग्रेस सक्रिय बनेको छ ।

    विसं २०४८ यतादेखि लगातार जित निकाल्दै आएको यस क्षेत्रमा यसपटक पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नबन्दा कांग्रेसलाई चुनौती थपिएको देखिन्छ ।

    २०७९ सालसम्म सात पटक डडेल्धुराबाट निर्वाचित देउवा यसपटक प्रतिस्पर्धामा नहुँदा निर्वाचन मैदानमा रहेका उम्मेदवारहरू मतदाता आकर्षित गर्न आ–आफ्नो रणनीतिमा सक्रिय छन् ।

    कांग्रेसका युवा नेता नैनसिंह महरले देउवा उम्मेदवार नहुनुको कारण स्पष्ट पार्दै मतदाताको विश्वास जित्ने र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

    राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रम, विशेषगरी देउवा दम्पत्तिमाथि भएको आक्रमण र पार्टी नेतृत्व परिवर्तनजस्ता विषयले कांग्रेसलाई गृहजिल्लामै मत व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

    नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापतिसमेत रहेका महरका लागि देउवाले कायम गरेको जितको श्रृंखला निरन्तरता दिनु ठूलो परीक्षा मानिएको छ ।

    कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले देउवा स्वास्थ्य अवस्थाका कारण निरन्तर उपस्थित हुन नसक्ने भए पनि पार्टीका महत्वपूर्ण कार्यक्रममा सहभागी हुने बताए ।

    यसैबीच, नेकपा (एमाले) का तर्फबाट चक्र स्नेही पहिलो पटक प्रतिनिधिसभा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    विद्यार्थी जीवनदेखि एमाले राजनीतिमा सक्रिय स्नेही यसअघि राष्ट्रिय सभा सदस्य भइसकेका व्यक्ति हुन् ।

    एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाहीले पार्टी एकताबद्ध भएर चुनावी अभियानमा लागेको दाबी गर्दै विकास र राष्ट्रियताका एजेन्डाले जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।

    डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन् भने १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    २०७९ सालमा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्य जितेका डा. ताराप्रसाद जोशी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

    उनी एमाले, एकीकृत समाजवादी हुँदै हाल रास्वपामा सक्रिय छन् ।

    प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा दौडमा होमिएका जोशीले नयाँ सोच र पुरानो अनुभवको समन्वय आवश्यक रहेको बताएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह माल चुनावी मैदानमा छन् ।

    उनले डडेल्धुरालाई शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै युवाको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

    मतदाता संख्यामा वृद्धि भएसँगै यसपटक मतदान संरचनामा पनि विस्तार गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र तोकिएका छन्, जसमध्ये ३३ स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

    २०७९ को निर्वाचनको तुलनामा दुई हजार २०२ मतदाता थपिएका छन् ।

    अन्य उम्मेदवारहरूमा राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट तथा स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर रहेका छन् ।

    करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेक अन्य उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना भएको छ, जसले यसपटकको निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images