काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते हुने निर्वाचनबाट नेपाली कांग्रेस सबभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गरेका छन्।
बिहीबार भैरहवामा आयोजित रूपन्देहीका उम्मेदवार सहित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले निर्वाचनमार्फत् मुलुककै पहिलो शक्ति बन्ने आत्मविश्वासका साथ नेपाली कांग्रेस चुनावी अभियानमा लागेको बताए।
शर्माले कुनै दल वा उम्मेदवारले मात्र जित्ने नभई देशले जित्ने कि हार्ने भन्ने यस पटकको निर्वाचनको मुख्य प्रश्न रहेको भन्दै देशलाई जिताउनको लागि नेपाली कांग्रेसले जित्नुपर्ने दाबी गरे।
शर्माले २०८४ सालमा हुनुपर्ने चुनाव २०८२ सालमा किन हुँदैछ, ७४ जना आमाहरूको काख किन रित्तिए, देशको सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत किन जल्यो, अर्बौं खर्बौंको क्षति किन भयो भन्ने विषयमा गम्भीर समीक्षा गरेर मात्र मतदान गर्न मतदातालाई भन्नुपर्ने बेला आएको बताए।
उनले जेनजी आन्दोलनको नाममा सिंहदरबार, सर्वोच्च अदालत, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण सम्पदाहरू मात्र जलेको नभई दलहरू बीचको विश्वास र मान्छे मान्छे बीचको स्नेह समेत जलेको भन्दै जलेका मनहरूलाई जोड्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताए।
पार्टीको विशेष महाधिवेशनपछि पहिलो पटक रूपन्देही आएका शर्माले विशेष महाधिवेशनको विषयमा नअलमलिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे।
‘अझै पनि चोक, चौतारा र चिया पसलहरूमा विशेष महाधिवेशनका विषयमा चर्चा गरेको सुनिन्छ, अब त्यसमा अलमलिने होइन। जाँगर हुनेहरूले अब फागुन २१ गतेपछि छलफल गरे हुन्छ निर्वाचनको समयमा अनावश्यक काममा अलमलिएर समय खेर फाल्ने छुट कसैलाई छैन,’ उनले भने।
शर्माले विशेष महाधिवेशन लगत्तै निर्वाचनमा केन्द्रित हुनुपरेको भए पनि नेपाली कांग्रेसले आफूलाई सुधार गर्दै अगाडि बढेको सन्देश दिन सकेको बताए।























