काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शक्ति प्रदर्शनको तयारी भएपछि सुरक्षाको कारण देखाउँदै विमानस्थललाई निषेधित क्षेत्र तोकिएको छ ।
स्वागतका नाममा हुने प्रदर्शनमा घुसपैठ हुन सक्ने र त्यसले विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई जोखिममा पार्ने भन्दै विमानस्थलभित्र कुनै पनि त्यस्ता गतिविधि गर्न रोक लगाइएको हो ।
पूर्वराजा शाह शुक्रबार दिउँसो साढे १२ बजे झापाबाट काठमाडौं आउने कार्यक्रम छ । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी संघसंस्थाले विमानस्थलमा जान आह्वान गरेका छन् ।
दुर्गा प्रसाईं नेतृत्वको समूह पनि विमानस्थलमा जाँदैछ । स्वागतका नाममा हुने कार्यक्रममा विमानस्थलको सुरक्षामा असर नपार्न तथा यात्रुहरूलाई अवरोध नगर्न प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्रसमेतको सुरक्षालाई मध्यनजर गर्दै जुलुस, प्रदर्शन, र्याली, भेलालगायत नगर्न र सामाजिक सञ्जालबाट पनि यस्ता गतिविधिका लागि नउस्काउन आग्रह गरेको छ ।
यस्ता गतिविधि निर्वाचन आचारसंहिताको समेत विपरीत भएको र निर्वाचन विरोधी समूहको घुसपैठ हुन सक्ने भएकाले निषेधित क्षेत्र तोकिएको काठमाडौं जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
विमानस्थलको सुरक्षा समितिले पनि विमानस्थल तथा त्यससँग जोडिएको चक्रपथमा प्रदर्शन लगायत कुनै पनि गतिविधि नगर्न यसअघि नै निर्णय गरेको प्रहरीले जनाएको छ ।























