काठमाडौं- जुम्लाबाट नेपालगञ्जसम्म बिरामी बोक्ने एम्बुलेन्सको भाडा रु २५ हजार तोकिएपछि स्थानीयले विरोध गरेका छन् । जिल्ला एम्बुलेन्स समितिले आफूखुसी भाँडादर निर्धारण गरेको आरोप लगाउँदै स्थानीयले विरोध गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा गत पुस २४ गते बसेको बैठकले भाडादर निर्धारण गरेको हो ।
निर्धारित भाडा दर अनुसार जनगुनासो आएको स्वीकार गर्दै कार्यालय प्रमुख शर्माले भने, “आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ । चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा रु ६०० जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर रु १०० र पक्की सडकमा ९० रुपैयाँ (दुवैतर्फ) तोकिएको छ ।”
त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानबाट सुर्खेतसम्म एम्बुलेन्स भाडा रु २० हजार र जुम्लाबाट नेपालगञ्जसम्म रु २५ हजार निर्धारण गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । दूरी र स्थानका आधारमा भाँडादर निर्धारण गरिएको स्पष्ट पारेका हुन् ।
सिञ्जा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् ।
सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीयवासी आक्रोशित छन् ।
बिरामीलाई लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयवासीको गुनासो छ ।
जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ ।


विश्व खबर 



















