काठमाडौं- नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका दुई डेन्टल क्लिनिकलाई सिल गर्न निर्देशन दिएको छ ।
बिहीबार काउन्सिलले चार डेन्टल क्लिनिकमा अनुगमन गरेकोमा दुई क्लिनिकमा गैरचिकित्सकले काम गरेको पाइएपछि यस्तो निर्देशन दिएको हो ।
काउन्सिलका अनुसार सर्वसाधारणबाट गैरडाक्टरले काम गरिरहेको र मापदण्ड पनि नपुगेको भन्ने गुनासो आएपछि अनुमन भएको गरिएको हो ।
काउन्सिलका अनुसार पूजा डेन्टल क्लिनिक र नाइस स्माईल डेन्टलमा जनस्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।
यी क्लिनिक सम्बन्धित निकायमा दर्ता नभएको, योग्य दन्त चिकित्सक तथा डेन्टल हाइजिनिस्ट नराखी सेवा सञ्चालन गरेको, अत्यधिक फोहोर तथा अस्वस्थकर वातावरणमा उपचार सेवा प्रदान गरेको भेटियो।
साथै उपकरणहरूको स्टेरिलाइजेशन नगरेको, दन्त सामग्री अव्यवस्थित राखिएको, बिरामीको अभिलेख नराखिएको तथा एक्स–रे मेसिन बिग्रिएको अवस्थामै प्रयोगका लागि राखिएको समेत भेटिएको काउन्सिलले जनाएको छ ।
त्यसैगरी आरुबारी डेन्टल क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको र सम्बन्धित डाक्टरसँग औपचारिक सम्झौता पत्र नभएको काउन्सिलले जनाएको छ ।
नागेश्वर डेन्टल होममा फुल–टाइम दन्त चिकित्सक नराखी पार्ट–टाइम चिकित्सकमार्फत मात्र सेवा सञ्चालन गरिएको भेटिएको छ।
काउन्सिलले यस्ता गतिविधिले सर्वसाधारणको मुख तथा दन्त स्वास्थ्यमा प्रत्यक्ष जोखिममा पारेको छ ।
काउन्सिलले नाइस स्माईल डेन्टल केयर प्रा.लि. र पूजा डेन्टल क्लिनिकलाई तत्काल बन्द गरी सिल गर्न सिफारिस गरेको छ ।
काठमाडौं महानगरपालिकालाई आवश्यक कारबाहीका लागि पत्र समेत पठाएको छ ।


विश्व खबर 



















