काठमाडौं– दक्षिण कोरियामा पूर्वगृहमन्त्री ली साङ–मिनलाई २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलको मार्शल ल कार्यान्वयनमा सहयोग गरेको आरोपमा सात वर्ष कैद सजाय सुनाइएको छ ।
सियोल अदालतले लीले मार्शल ल लागू गर्न महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरेको छ ।
अदालतका अनुसार उनले सरकारको नीति आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई पानी र बिजुली आपूर्ति रोक्न प्रहरी र अग्नि नियन्त्रक प्रमुखहरूलाई निर्देशन दिन खोजेका थिए ।
तर, राष्ट्रिय सभाले सर्वसम्मत रूपमा मार्शल ल हटाएपछि ती आदेश कार्यान्वयन हुन सकेनन् ।
लीले आरोप अस्वीकार गर्दै आदेश दिएका वा षड्यन्त्रमा संलग्न नभएको दाबी गरेका थिए ।
अदालतले पर्याप्त प्रमाण अभावका कारण शक्तिको दुरुपयोग आरोपबाट उनलाई मुक्त गरेको छ ।
अभियोजनकर्ताहरूले उनलाई १५ वर्ष जेल माग गरेका थिए ।
ली मार्शल ल प्रकरणमा दोषी ठहर हुने युनको मन्त्रिमण्डलका दोस्रो सदस्य हुन् ।
यसअघि पूर्वप्रधानमन्त्री हान डक सूलाई २३ वर्ष जेल सजाय सुनाइएको थियो ।
पूर्वराष्ट्रपति युनले मार्शल ल आवश्यक कदम भन्दै बचाउ गरेका थिए ।
तर, पछि पदबाट हटाइए र विभिन्न आपराधिक मुद्दामा हिरासतमा छन्, जसमा विद्रोह आरोप सबैभन्दा गम्भीर मानिएको छ ।


विश्व खबर 




















