बागलुङ– बुर्तिबाङमा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्रको स्वाधीनता र संविधान रक्षा गर्ने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
उनले २०८४ मा निर्वाचन चाहिएको भए पनि बाध्यात्मक परिस्थितिका कारण अहिले चुनाव हुन लागेको उल्लेख गरे ।
भदौ २३–२४ का घटनाले देशमा गम्भीर संकट सिर्जना गरेको भन्दै त्यसबेला आफू र माधव नेपालले पहल गरेर स्थिति नियन्त्रणमा ल्याएको दाबी गरे ।
विदेशी शक्तिको हस्तक्षेपबाट देश अस्थिर बनाउने प्रयास भइरहेको संकेत गर्दै निर्वाचनलाई राष्ट्रवादी शक्ति र बाह्य प्रभावबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गरे ।
युक्रेन र भेनेजुएलाको उदाहरण दिँदै नेपाल ठूला शक्तिको खेल मैदान बन्न नहुने चेतावनी दिँदै उनले साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता व्यक्त गरे ।
साथै बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेलाई समर्थन गर्न आग्रह गर्दै क्षेत्रीय विकासका योजना अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मोहनविक्रम सिंह, पफ्फा भुसाललगायत नेताहरूले पनि वामपन्थी र राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।























