images
images
  • कांग्रेसले स्थानीय तहमा उम्मेदवारी छान्न प्राइमरी चुनाव गर्ने, प्रतिपक्षमाथि कडा निगरानी

    काठमाडौं– नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनका लागि विधानसम्मत उम्मेदवार चयन गर्न विशेष निदेश गर्ने भएको छ ।

    मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।

    स्थानीय तहको आगामी निर्वाचनका लागि विधानसम्मत उम्मेदवार छनोट प्रक्रिया तथा प्राइमरी निर्वाचनको आवश्यक तयारी प्रारम्भ गर्ने भन्दै प्राइमारी निर्वाचनको अवधारण अगाडि सारेको छ ।

    कांग्रेसले १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम र संकल्पलाई तल्लो तहसम्म पु¥याउन तथा नागरिकसँग प्रत्यक्ष जोडिन देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ ।

    यसैक्रममा उम्मेदवार छनोट र प्राइमारी निर्वाचनको प्रस्ताव अगाडि ल्याएको थियो ।

    सम्बन्धित तहको उम्मेदवार हुनका लागि सम्बन्धित तहका पार्टी सदस्यहरुबाट चुनाव जितेर आउनुपर्ने व्यबस्थालाई प्राइमारी निर्वाचन भन्ने गरिन्छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमारी निर्वाचनको अवधारणा अगाडि सारिसकेको छ ।

    मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गरिएको ‘हामी तयार छौँ अभियान : अवधारणा तथा कार्ययोजना’ प्रस्तुत भएको छ ।

    वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले तयार पारेको प्रस्तावमा अभियान २०८३ मंसिर १५ गतेदेखि पुस ५ गतेसम्म यो अभियान सञ्चालन गरिने उल्लेख छ ।

    २०८३ असोज १८ देखि २३ गतेसम्म भएको पार्टीको १५ औँ महाधिवेशनपछि पार्टीलाई आधुनिक, गतिशील र समयसापेक्ष बनाउँदै लैजाने उद्घोषसहित कांग्रेसले यो अभियानको खाका तयार पारेको हो ।

    अवधारणापत्रमा अबका वर्ष केवल आशा जगाएर मात्र बिताउने नभई आशा पूरा गर्ने जिम्मेवारी लिएर काम गर्ने वर्ष भएको उल्लेख गर्दै इतिहासमा अडिएर नबसी वर्तमान समस्याको समाधान र समुन्नतिको नेतृत्व गर्न पार्टी तयार रहेको लेखिएको छ ।

    पार्टीका स्थानीय संरचनालाई नियमित सामाजिक तथा सामुदायिक कार्यमा संलग्न गराउने पनि प्रस्ताव अगाडि सारेको छ ।

    अभियानका क्रममा राष्ट्रिय पुनर्जागरण र समुन्नतिको संकल्पबारे नागरिकसँग छलफल गरिनेछ ।

    रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सुशासन र सार्वजनिक सेवाका चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरी स्थानीय तहबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमसँग जोड्ने उद्देश्य अभियानको छ ।

    प्रमुख प्रतिपक्षी भूमिका र ‘प्रतिपक्षी निगरानी’ का विषयमा पनि छलफल गर्ने अभियानको दोस्रो उद्देश्य छ ।

    लोकतान्त्रिक जनादेशअनुसार प्रमुख प्रतिपक्षको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्ने कार्ययोजनामा शर्माले लेखेका छन् ।

    कार्ययोजनामा कांग्रेसले सरकारका सकारात्मक काममा समर्थन गर्ने तर लोकतन्त्र, संविधान, विधिको शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक संस्थाको स्वायत्ततामा आँच पुग्ने कदमप्रति निरन्तर खबरदारी गर्ने उल्लेख गरेको छ ।

    पार्टीले नियमित ‘प्रतिपक्षी निगरानी’ गर्ने र अभियानका क्रममा स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा उठाउनुपर्ने जनसरोकारका विषय पहिचान तथा अभिलेखीकरण गरिने पनि कार्ययोजनामा लेखिएको छ ।

    अभियानका क्रममा कांग्रेसले स्थानीय तहमा केही कार्यभार अगाडि सारेको छ ।

    अभियान अवधिभर देशभरका सबै गाउँपालिका र नगरपालिकामा पाँच प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

    पहिलो, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा बैठक बसी अभियानको कार्यतालिका तय गर्ने, पदाधिकारीको विधानअनुसारको जिम्मेवारी र आचारसंहिताबारे जानकारी गराउने तथा स्थानीय सांगठनिक समस्यामाथि छलफल गर्ने कार्ययोजनामा उल्लेख छ ।

    दोस्रो, पार्टी सदस्यहरूको भेला तथा अभिमुखीकरण औपचारिक मन्तव्यमा केन्द्रित नभई प्रश्नोत्तर, छलफल र अन्तरक्रियामूलक रूपमा प्रत्येक स्थानीय तहमा सदस्यहरूको भेला आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

    तेस्रो, पार्टीको विधानअनुसार स्थानीय तहका सदस्यहरूको सहभागितामा प्राइमरी निर्वाचनमार्फत उम्मेदवार छनोट गर्न आवश्यक आधार तयार पार्ने उल्लेख छ ।

    यसक्रममा सदस्यता अभिलेख अद्यावधिक गर्ने, प्राइमरीमा सहभागी हुन योग्य सदस्यको विवरण व्यवस्थित गर्ने, स्थानीय तहको आधिकारिक जनसाङ्ख्यिक, आर्थिक र सामाजिक तथ्याङ्क तयार पार्ने तथा प्राइमरी निर्वाचनका लागि आवश्यक सांगठनिक, प्रशासनिक र प्राविधिक तयारी पहिचान गरिने विषय पनि समावेश गरिएको छ ।

    चौथौँ, असहमतिसमेत सुन्ने गरी वडा, टोल र बस्तीस्तरमा नागरिक संवाद तथा भेटघाट गर्ने उल्लेख छ ।

    संवादमा पार्टीका नीतिबारे जानकारी दिनुका साथै नागरिकका अनुभव, प्रश्न, असहमति, समस्या र सुझाव संकलन गरिने पनि कार्ययोजनामा लेखिएको छ ।

    त्यो संवादमा पार्टीका अग्रज, सहिद तथा द्वन्द्वप्रभावित परिवार, प्रजातन्त्र सेनानी, महिला, युवा, पेसाकर्मी र नागरिक समाजलाई अवसर दिने तथा व्यक्तिगत विवरण संकलन गर्नुपरेमा सम्बन्धित व्यक्तिको सहमति, गोपनीयता र सुरक्षा सुनिश्चित गरिने उल्लेख छ ।

    पाँचौँ, प्रत्येक गाउँ–नगर कार्यसमितिले स्थानीय आवश्यकताका आधारमा कम्तीमा एउटा सामुदायिक हितको कार्यक्रम छनोट गरी ‘संस्थागत सङ्कल्प’ घोषणा गर्ने उल्लेख छ ।

    संकल्पअनुसार २०८३ पुसदेखि चैत मसान्तसम्मको चारमहिने कार्ययोजना कार्यान्वयन गरिने पनि कार्ययोजनामा लेखिएको छ ।

    यसअन्तर्गत सामुदायिक पूर्वाधार तथा सेवा (विद्यालय, स्वास्थ्य संस्था, खानेपानी), शिक्षा–स्वास्थ्य सुधार (स्वयंसेवक शिक्षक अभियान), वातावरण तथा विपद् व्यवस्थापन, सीप–रोजगारी (‘पुर्खाको सीप, आधुनिक उद्यम’ जस्ता कार्यक्रम), संस्कृति तथा सम्पदा संरक्षण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सेवा पहुँचजस्ता क्षेत्र समेट्न सकिनेछ ।

    यो सामाजिक कार्यक्रम सबै नागरिकका लागि खुला, गैरभेदभावपूर्ण, पारदर्शी र कुनै राजनीतिक समर्थनको सर्त नराखी स्थानीय सरकार र समुदायसँगको समन्वयमा सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।

    अभियान सञ्चालनका लागि ७५३ वटै गाउँपालिका तथा नगरपालिकामा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाउने कार्ययोजनामा उल्लेख छ ।

    केन्द्रीय प्रतिनिधिले अभियान अवधिभर अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमै रहनुपने पनि लेखिएको छ ।

    प्रतिनिधिको भूमिका निर्देशन दिनेमा मात्र सीमित नभई स्थानीय संरचनाका कुरा सुन्ने, समस्या बुझ्ने र सुझाव केन्द्रसम्म पु¥याउने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images