काठमाडौं– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासमा दुवै देशका सैनिक सहभागी छन् ।
संयुक्त सैन्य अभ्यासमा मुख्य रूपमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायता लगायतका विषयमा प्रशिक्षण र अनुभव आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ ।
अभ्यासका क्रममा दुवै देशका सैनिकले विभिन्न विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आदानप्रदान गर्नेछन् ।
साथै, विपद्का समयमा संयुक्त रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्ने क्षमता अभिवृद्धि, जङ्गल क्षेत्रमा सैन्य कारबाही सञ्चालन गर्ने सीप र मानवीय सहायता प्रदान गर्ने कार्यमा सहकार्यलाई प्राथमिकता दिइनेछ ।
नेपाली सेना र भारतीय सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’ संयुक्त अभ्यासले दुई देशका सैनिकबीच आपसी समझदारी, व्यावसायिक दक्षता तथा समन्वय अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
यसले दुवै देशबीचको सैन्य सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउनसमेत योगदान पुर्याउने विश्वास गरिएको छ ।






















