images
images
  • रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण, पुटिनले दिए जवाफी कारबाहीको चेतावनी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण रोक्न आग्रह गरे पनि युक्रेनले रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउन नछाडेको रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले बताएका छन् ।

    उनले यसको जवाफमा रूसले पनि प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

    मंगलबार पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

    यसअघि किभले मस्कोले पनि रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण रोकेमा मात्र आफूले त्यस्ता आक्रमण बन्द गर्ने बताएको थियो ।

    सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि जारी युद्धमा ट्रम्पले अक्टोबरको मध्यतिर ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्ने युद्ध विराम घोषणा गरेका थिए ।

    त्यसपछि युक्रेनका आक्रमण केही समय कम भएका थिए ।

    तर अक्टोबरको अन्त्यतिर फेरि तीव्र हुन थाले ।

    क्रेमलिनमा सरकारी अधिकारी र तेल उद्योगका उच्च अधिकारीहरूसँगको बैठकमा पुटिनले भने, ‘अमेरिकी राष्ट्रपतिले यस्ता आक्रमण नगर्न आग्रह र प्रत्यक्ष अनुरोध गरे पनि किभको शासनले हाम्रा तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राखेको हामीले देखिरहेका छौँ । तर किभका अधिकारीहरूले उक्त सुझावलाई बेवास्ता गरिरहेका छन् ।’

    उनले थपे, ‘यस सन्दर्भमा म स्पष्ट पार्न चाहन्छु कि हाम्रो तर्फबाट जवाफी कदम चाल्नु अपरिहार्य छ ।’

    पुटिनले ऊर्जा पूर्वाधारको सुरक्षाका लागि थप उपाय अपनाउन पनि बैठकमा निर्देशन दिएका छन् ।

    रोयटर्स समाचार एजेन्सीले उद्धृत गरेका दुई उद्योग स्रोतको अनुमानअनुसार, अक्टोबरको अन्त्ययता युक्रेनका ड्रोन आक्रमणका कारण रूसी तेल प्रशोधन केन्द्रहरूको संयुक्त कच्चा तेल प्रशोधन क्षमता ४५ प्रतिशतले घटेको छ ।

    युक्रेनले तेल प्रशोधन केन्द्रहरूमा पुनः आक्रमण तीव्र बनाएपछि रूसका विभिन्न क्षेत्रले पेट्रोल र डिजेलको खुद्रा बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

    स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले यसबारे जानकारी दिएका छन् ।

    पुटिनले रूसको आन्तरिक इन्धन बजारको अवस्था अझै चुनौतीपूर्ण रहे पनि अक्टोबरमा उच्च बिन्दुमा पुगेपछि पेट्रोलको मूल्य स्थिर भएको बताएका छन् ।

    युद्धको दायरा विस्तार हुँदै

    यसैबीच, पोल्यान्डले मंगलबार रूसी निगरानी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    उक्त ड्रोन केही समयका लागि पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।

    पोल्यान्डले रूसले जानाजानी आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको हो ।

    किभबाट रिपोर्टिङ गर्दै अलजजिराका अब्देलअजिज मुजाहिदले यस घटनाले युद्ध र दुई पक्षबिचका मुठभेडहरू थप विस्तार भइरहेको सङ्केत पनि गर्न सक्ने बताएका छन् ।

    यसअघि सोमबार मस्कोले नेटो र युरोपेली सङ्घको सदस्य राष्ट्र इस्टोनियामाथि विभिन्न शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाउँदै त्यसले ‘खुला युद्ध निम्त्याउने अवस्था’ सिर्जना गर्न सक्ने चेतावनी दिएको थियो ।

    इस्टोनियाले रुससँगको आफ्नो स्थल सीमा बन्द गर्ने घोषणा गरेपछि मस्कोको यस्तो प्रतिक्रिया आएको हो ।

    अन्य घटनाक्रममा, पोल्यान्डले शुक्रवार रुसका तीन वटा ख–१०१ क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको जनाएको छ ।

    त्यस्तै, शनिवार बाल्टिक सागरमा रुसी सेनासँग सम्बन्ध रहेको एउटा मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएको थियो ।

    आक्रमणपछि जहाजमा आगलागी भएको थियो ।

    उक्त आक्रमणको जिम्मेवारी युक्रेनले लिएको छ ।

    आइतबार युक्रेनले समुद्री ड्रोन प्रयोग गरी लिबियाको एउटा बन्दरगाहमा रहेको रुसी नौसेनाको युद्ध पोत (कोर्भेट) डुबाएको थियो ।

    युक्रेनका विदेश मन्त्री आन्द्रेई सिबिहाले उक्त ड्रोन आक्रमणलाई आत्मरक्षाको वैध कार्य भएको बताएका छन् ।

    लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त त्रिपोलीस्थित सरकारबाट आलोचना भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    यसैबीच, बेलायतका सुरक्षा अधिकारीहरूले मंगलबार युक्रेनी सशस्त्र बललाई ‘भौतिक सहयोग’ उपलब्ध गराउँदै आएका बेलायती कम्पनीहरूलाई रूसबाट हुन सक्ने तोडफोडका प्रयासप्रति सतर्क रहन चेतावनी दिएका छन् ।

    सर्वसाधारणको ज्यान गयो

    यसैबिच, रूसले रातभर गरेको आक्रमणमा युक्रेनको जापोरिज्जिया सहरमा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर मिखाइलो सेमिकिनले मंगलबार बताएका छन् ।

    उक्त आक्रमणमा चार बालबालिकासहित ४० जना घाइते भएको उनले जानकारी दिए ।

    आफ्नो टेलिग्राम खातामा सार्वजनिक गरिएका तस्बिर र भिडियोमा एउटा अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको, भवनका झ्यालहरू फुटेको र भुईँमा भग्नावशेष छरिएको देखिन्छ ।

    रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै इन्टरफ्याक्स समाचार एजेन्सीले मंगलबार रुसी सेनाले युक्रेनको सुमी क्षेत्रमा ड्रोन नियन्त्रण केन्द्र, स्टार लिङ्क स्याटलाइट टर्मिनल र अन्य सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ ।

    उक्त आक्रमणमा केही सैनिकको समेत मृत्यु भएको समाचारमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images