ललितपुर–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराएका हुन् ।
महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी गराए ।
बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ ।
बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।
मंगलबार दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए ।






















