images
images
  • पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?

    काठमाडौं– पूर्वआईजीपी पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    कार्कीले दायर गरेको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा९सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै एआईजी मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।

    सो निर्णयविरुद्ध कार्कीले कात्तिक १९ मा पेस गरेको रिट २० गते दर्ता भएको थियो ।

    तिहार बिदापछि मङ्सिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई मंसिर ७  गते छलफलका लागि बोलाएको थियो ।

    मंसिर ४ गते आईजीपी केसीका नाममा जारी म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न नमानेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले ‘प्राविधिक कारण’ देखाउँदै पुनः म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए ।

    सोहीअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाई विषयवस्तुको संवेदनशीलता हेरेर प्राथमिकताका साथ पालो आउने गरी बुधबारका लागि पेसी तोक्न आदेश दिएको हो ।

    रिटमा कार्कीले आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न तथा केसीलाई आईजीपी नियुक्त गर्नेलगायत सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी कार्यकालभरि पदमा काम गर्न दिन परमादेश र अन्तरिम आदेश माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images