images
images
  • युद्धरत युक्रेनमा चुनाव गराउन राष्ट्रपति जेलेन्स्की अनिच्छुक, दबाब बढाउँदै अमेरिकी समकक्षी ट्रम्प

    काठमाडौं– रूससँग करिब चार वर्षदेखि जारी युद्धका कारण युक्रेनमा चुनाव गराउने विषय विवाद र चुनौतीपूर्ण बनेको छ ।

    क्रेमलिन र हाल ह्वाइट हाउसले शान्ति सम्झौताको भागका रूपमा युक्रेनले चुनाव गर्नुपर्ने धारणा राखेपछि यसबारे बहस तीव्र भएको छ ।

    फाइनान्सियल टाइम्सका अनुसार किएभले आगामी केही महिनाभित्र राष्ट्रपति चुनावको सम्भावना पनि अध्ययन गरिरहेको छ ।

    तर, सन् २०२२ फेब्रुअरीदेखि लागू गरिएको मार्शल ल (सैन्य कानुन)ले युद्धकालमा चुनाव गर्न प्रतिबन्ध लगाएको छ ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौतापछि मात्र चुनाव सम्भव हुने बताउँदै आएका छन्, यद्यपि अमेरिकी योजनाअन्तर्गत छिटो मतदानबारे सकारात्मक सङ्केत पनि दिएका छन् ।

    मुख्य अवरोधहरूमा निरन्तर बमबारी, लाखौँ नागरिकको विस्थापन, रूसी नियन्त्रणमा रहेका क्षेत्र, र मोर्चामा रहेका सैनिकको मतदान व्यवस्था प्रमुख छन् ।

    राजनीतिक विश्लेषकहरूका अनुसार कब्जा गरिएका क्षेत्रमा चुनाव लगभग असम्भव छ ।

    सर्वेक्षणहरूले पनि अधिकांश युक्रेनी युद्धविरामअघि चुनावको पक्षमा नरहेको देखाउँछन् ।

    रूसले जेलेन्स्कीको कार्यकाल सकिएको भन्दै वैधतामाथि प्रश्न उठाइरहेको छ भने अमेरिका, विशेषतः डोनाल्ड ट्रम्प, शान्ति प्रक्रियाको भागका रूपमा चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।

    उम्मेदवारतर्फ जेलेन्स्की अझै लोकप्रिय देखिए पनि पूर्व सेना प्रमुख भ्यालेरी जालुज्नी बलियो प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

    साथै पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्को र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्को पनि सम्भावित दाबेदार मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images