काठमाडौं– झन्डै छ दशक लामो सक्रिय राजनीतिक जीवनमा सधैँ मुखर देखिएका शेरबहादुर देउवा यतिबेला असामान्य मौनतामा छन् ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहँदा र कांग्रेस चुनावी अभियानमा जुटिरहँदा पनि देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।
विशेष महाधिवेशनबाट नेतृत्व गुमाएपछि सुरु भएको उनको मौनता स्वास्थ्यभन्दा बढी राजनीतिक हैसियतको अन्योलसँग जोडिएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई सभापतिका रूपमा मान्यता दिएपछि देउवा त्यसविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
मुद्दा विचाराधीन रहेकाले अदालतको निर्णय नआएसम्म सक्रिय नहुने मनस्थितिमा उनी रहेको निकटस्थहरू बताउँछन् ।
औपचारिक कार्यक्रममा नदेखिए पनि उनी घरमै बसेर उम्मेदवारहरूसँग टेलिफोन संवाद र शुभकामना आदान–प्रदान गरिरहेका छन् ।
कांग्रेसभित्र भने उनको मौनताले चुनावी परिणाममा असर पर्न सक्ने चिन्ता छ । केही नेताहरूले उनलाई कुन हैसियतमा प्रचारमा जाने ? भन्ने प्राविधिक प्रश्नले रोकिएको बताउँछन् ।
अर्कोतर्फ, वर्तमान नेतृत्वसँगको दूरी र अपमानित भएको अनुभूतिले पनि उनी सार्वजनिक रूपमा ननिस्किएको विश्लेषण छ ।
सामाजिक सञ्जालमा अझै ‘सभापति’ पद उल्लेख भइरहँदा पार्टीको वेबसाइटबाट उनको नाम हटिसकेको छ ।
देउवा चुनाव नलडे पनि मतदानका लागि गृहजिल्ला डडेल्धुरा जाने तयारीमा छन् ।
सातपटक त्यहीँबाट निर्वाचित देउवा यसपटक मैदानबाहिर रहे पनि पूर्ण रूपमा राजनीतिबाट बाहिर भने छैनन् ।























