images
images
  • वाचा पूरा नगरेपछि यसपटक मतदातालाई उल्लु बनाउन जनकरार ल्याउँदै रास्वपा

    काठमाडौं– पुराना दलहरूसँगै नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली जनतासँग गरेका अधिकांश वाचा पूरा गर्न नसकेको आरोप खेपिरहेको छ ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलहरू नयाँ घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

    रास्वपाले भने यसपटक घोषणापत्रलाई जनकरार नाम दिने तयारी गरेको छ ।

    पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार उक्त बाचापत्र ७ फागुनभित्र सार्वजनिक गरिनेछ र लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

    २०७९ को निर्वाचनपछि सरकारमा सहभागी भएका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा र रास्वपा सबैले चुनावी प्रतिबद्धताअनुसार काम गर्न नसकेको आलोचना भइरहेको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी भएको थियो। तर डेढ वर्षको अवधिमा सरकार र सहभागी दलहरूले आफ्ना अधिकांश चुनावी एजेन्डा कार्यान्वयन गर्न सकेनन् ।

    रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा सरकारमा सहभागी हुँदा पार्टीले अघि सारेका भ्रष्टाचारविरुद्धका मुद्दा र ठूला काण्डहरूको छानबिन अपेक्षाअनुसार अगाडि बढ्न सकेनन् ।

    उल्टै सहकारी प्रकरणमा लामिछाने स्वयं विवादमा परेपछि सडकदेखि सदनसम्म आलोचना चुलियो, संसद् अवरुद्ध भयो र पीडितहरू आन्दोलनमा उत्रिन बाध्य भए ।

    २०७९ को घोषणापत्रमा रास्वपाले शासकीय संरचनामै परिवर्तन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था लागू गर्ने, संवैधानिक परिषद् खारेज गर्ने, राष्ट्रिय सभालाई गैरदलीय बनाउनेजस्ता राजनीतिक सुधारका एजेन्डा अघि सारेको थियो ।

    साथै प्रधानमन्त्री विश्वविद्यालयको कुलपति नहुने व्यवस्था, बालुवाटारदेखि वाइडबडीसम्मका काण्डहरूको फाइल खोल्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।

    तर, सरकारमा रहँदा यी प्रतिबद्धताहरू कार्यान्वयनमा आउन सकेनन् ।

    त्यसबाहेक रास्वपाले सीपमूलक तथा उद्यम तालिमका लागि एक अर्ब रुपैयाँको कोष स्थापना गर्ने, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने सवारी साधन बन्द गर्ने, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान, २५० मेगावाट सौर्य ऊर्जा आयोजना निर्माण, प्रदेशदेखि पालिकास्तरसम्म अस्पताल विस्तार, ३५ हवाई र ७५३ सडक एम्बुलेन्स थप गर्ने तथा साना व्यवसायलाई आयकर छुट दिने जस्ता महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको थियो। यीमध्ये अधिकांश योजना कागजमै सीमित रहे ।

    यद्यपि रास्वपाका महामन्त्री बुर्लाकोटीले बहुमतको सरकार नहुँदा घोषणापत्रअनुसार काम गर्न कठिन भएको दाबी गरेका छन् ।

    उनले आफूहरूले सम्हालेका मन्त्रालयमा उल्लेखनीय काम भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि बहुमतको सरकार बनाएर जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images