images
images
  • बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब १५० जना बिरामी, फुडपोइजनको आशंका

    काठमाडौं- खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका(६ दिप्लुङमा बिहे भोज खाएका करिब १५० जना बिरामी परेका हुन् ।

    भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ । बिरामी परेका स्थानीयको दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको गाउँपालिले जनाएको छ ।

    माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ । बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् ।

    बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधि सहितको जनशक्ति मगाइएको छ । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको प्रवन्ध मिलाएको हो ।

    गाउँपालिकाका अनुसार भोज खाएका जति सबै स्थानीय बिरामी परेका छन् । बिरामी परेकामध्ये केही गम्भीर रहेका छन् । ३५ जनाको अहिले पनि स्लाइनपानी, जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको छ । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेको खबर आएको छ ।

    ‘फुडपोइजन’को कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images