images
images
  • त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम विस्तारको सूची विवादमा, मापदण्ड र पारदर्शितामाथि प्रश्न

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६८१ क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थप्ने प्रक्रिया अघि बढाएपछि क्याम्पस छनोटको मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । आवश्यक भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीसमेत नभएका क्याम्पसलाई कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको भन्दै विद्यार्थी प्रतिनिधि तथा प्राध्यापकहरूले आपत्ति जनाएका छन् ।

    काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० अध्यक्षहरूले उपकुलपति भोला थापालाई भेटेर कार्यक्रम थपका लागि क्याम्पस छनोट गर्दा निर्धारित मापदण्ड र सम्बन्धनसम्बन्धी विनियम उल्लंघन भएको भन्दै ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालयले तोकेको योग्यता तथा आवश्यक मापदण्ड पूरा नगरेका क्याम्पसलाई समेत योग्यताको सूचीमा राखिएको उनीहरूको आरोप छ ।

    त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधारको अभावका कारण खारेजीको अवस्थामा पुग्नुपर्ने क्याम्पसलाई समेत नयाँ विषय, कार्यक्रम, सेक्सन र कोटा थप गर्ने सूचीमा समेटिएको दाबी गरे । एउटै परिसर र भवनमा दुई फरक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई पनि कार्यक्रम विस्तारका लागि योग्य ठहर गरिएको उहाँको भनाइ छ ।

    त्रिविका प्राध्यापक तथा अन्य सरोकारवालाले पनि विश्वविद्यालयले तयार पारेको सूचीमाथि प्रश्न उठाएका छन् । आफ्नै अध्यापक, भवन, भौतिक पूर्वाधार र पर्याप्त विद्यार्थीसमेत नभएका क्याम्पसलाई थप कार्यक्रम सञ्चालनका लागि योग्य ठहर गर्नुले विश्वविद्यालयको नियमनकारी भूमिकामाथि नै प्रश्न उठेको उनीहरूको भनाइ छ ।

    पाटन क्याम्पसका स्ववियु अध्यक्ष रोहित कपालीले सम्बन्धनसम्बन्धी विनियम उल्लंघन गर्ने क्याम्पसलाई कारबाही गर्नुको सट्टा थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि योग्य ठहर गर्नु गलत भएको बताए। उनले विनियम उल्लंघन गर्ने क्याम्पसलाई सम्बन्धन खारेजीसम्मको कारबाही गर्नुपर्ने माग गरेको छ ।

    स्ववियु अध्यक्षहरूले मापदण्ड तथा विनियमविपरीत योग्य ठहर गरिएका क्याम्पसको निर्णय पुनरावलोकन गर्न, कार्यक्रम थपको प्रक्रिया तत्काल रोक्न र निष्पक्ष तथा पारदर्शी अनुगमन प्रणाली लागू गर्न माग गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

    विद्यार्थी प्रतिनिधिहरूले प्रश्न उठाएपछि त्रिवि योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ । आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणापत्र बुझाउन निर्देशन दिइएको हो । एउटै परिसरमा दुई फरक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था रहेको त्रिविले जनाएको छ ।

    विश्वविद्यालय कार्यकारी परिषद्को २१ कात्तिक २०८३ को निर्णयअनुसार कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजले यस्तो स्वघोषणापत्र बुझाउनुपर्नेछ । त्यसका लागि १५ मंसिरसम्मको समयसीमा तोकिएको छ । स्वघोषणापत्रमा उल्लेखित विवरण गलत वा झुटा ठहरिए कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धतासमेत जनाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

    त्रिविले कार्यक्रम विस्तारका लागि अघि बढाएको प्रक्रियामा व्यवस्थापन संकायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका २७५ क्याम्पस समेटिएका छन् । मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातक तहका १०४ र स्नातकोत्तर तहका ४० क्याम्पस सूचीकृत छन् ।

    त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तहका १२८, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहका ४८, एमफिल तहका १४ र स्नातक तहका ७२ क्याम्पसलाई कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपको प्रक्रियामा समावेश गरिएको छ ।

    त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने कार्यक्रम विस्तारका लागि सार्वजनिक गरिएको सूची प्रारम्भिक मात्रै भएको बताउनुभएको छ । आन्तरिक अनुगमनका आधारमा सम्बन्धनका लागि योग्य देखिएका क्याम्पसको नाम सूचीमा राखिएको उनको भनाइ छ ।

    ‘आन्तरिक अनुगमनबाट यी कलेजहरू सम्बन्धनका लागि योग्य छन् भनेर सूची निकालेको हो,’ उनले भने, ‘कुनै गुनासा भए उजुरी गर्न सकिन्छ । दाबी–विरोध आए सुनुवाइ हुन्छ । सूचीलाई अन्तिम रूप दिन बाँकी नै छ । उजुरी परेकाहरूमाथि छानबिन गरिन्छ।’ सम्बन्धित डिन कार्यालयहरूले कार्यक्रम विस्तारका लागि क्याम्पसहरूको नाम सिफारिस गरेका थिए । योजना निर्देशनालयले कार्यकारी परिषद्बाट निर्णय गराएर कार्यक्रम विस्तारको प्रक्रिया अघि बढाएको हो ।–कान्तिपुर

    प्रतिक्रिया दिनुहोस्
    images
    images