images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीको गगनचुम्बी भवनमा पुनः आक्रमण, नेपालीसहित ११ जना घाइते

    काठमाडौं– साउदी अरबको राजधानी रियादस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवनमा इरान समर्थित हुथी विद्रोही हुथी विद्रोहीले पुनः आक्रमण गरेका छन् ।

    मंगलबार भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् ।

    साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी आक्रमण’ भन्दै निन्दा गरेको छ ।

    प्रत्यक्षदर्शीका अनुसार आक्रमण रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्ट (केएएफडी)मा रहेको ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरलाई लक्षित गरी गरिएको थियो ।

    उक्त भवन साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालयसमेत हो ।

    यो भवनमा केही दिनअघि पनि आक्रमण भएको थियो। गत बिहीबार भएको आक्रमणबाट भवनका केही तलामा क्षति पुगेको थियो ।

    त्यसको मर्मत भइरहेको अवस्थामा मंगलबार पुनः आक्रमण भएको हो ।

    साउदी नागरिक सुरक्षा निकायले आक्रमणमा ११ जना घाइते भएको पुष्टि गरेको छ ।

    साउदी प्रेस एजेन्सीका अनुसार घाइते हुनेमा भारतीय, नेपाली र इजिप्टका नागरिकसहित साउदी नागरिक पनि छन् ।

    समाचार संस्था एएफपीका अनुसार घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर छ ।

    उनीहरू आक्रमणका क्रममा लागेको आगोबाट जलेर गम्भीर घाइते भएका हुन् ।

    साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल मल्कीले सामाजिक सञ्जालमार्फत वित्तीय केन्द्रमा रहेको एउटा टावरलाई लक्षित गरी ‘कायरतापूर्ण आतंकवादी आक्रमण’ गरिएको बताएका छन् ।

    उनले घटनास्थलको निरीक्षण भइरहेको जानकारी पनि दिएका छन् ।

    आक्रमणपछि सुरक्षा निकायले वित्तीय क्षेत्रका केही प्रवेशद्वार बन्द गरेका थिए ।

    प्रहरीले सडक अवरुद्ध गरी सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको थियो ।

    घटनाका बेला आसपासका क्षेत्रमा रहेका मानिसलाई सुरक्षित स्थानमा जान चेतावनीसमेत दिइएको थियो ।

    साउदीका महत्वपूर्ण संरचना निशानामा

    इरान समर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका सैन्य, नागरिक तथा तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन् ।

    यसअघि रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पटक–पटक आक्रमण भएको थियो ।

    अक्टोबरमा भएको एउटा आक्रमणमा १४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

    विमानस्थलमा भएको आक्रमणपछि दुई सातासम्म उडान सेवा प्रभावित भएको थियो ।

    त्यस्तै, यसै महिना केएएफडीस्थित साउदी सरकारी तेल कम्पनी अराम्कोको एउटा टावर पनि आक्रमणको निशानामा परेको थियो ।

    पीआईएफ टावरमाथिको आक्रमणलाई साउदी अरबको आर्थिक महत्वाकांक्षामाथिको प्रतीकात्मक प्रहारका रूपमा हेरिएको छ ।

    तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने साउदी सरकारको योजनामा उक्त कोषले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    हुथीले आक्रमणको जिम्मेवारी लिएको छैन

    गत साता भएको पीआईएफ टावरमाथिको आक्रमणको जिम्मेवारी हुथी विद्रोहीले लिएका थिए ।

    तर मंगलबारको पछिल्लो आक्रमणबारे भने उनीहरूले अहिलेसम्म जिम्मेवारी लिएको घोषणा गरेका छैनन् ।

    साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथी विद्रोहीका अखडालाई लक्षित गरी जवाफी कारबाही गर्दै आएको छ ।

    मंगलबार यमनको लाहिज प्रान्तमा गठबन्धनले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    यसैबीच बेलायतले हुथी समूह र उसका चार वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

    समूहको सम्पत्ति रोक्का गर्ने तथा चार अधिकारीको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ ।

    साउदी नेतृत्वको गठबन्धन सन् २०१५ को सुरुदेखि यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा युद्धमा संलग्न छ ।

    हुथी विद्रोहीले राजधानी सानासहितका क्षेत्र नियन्त्रणमा लिएपछि सुरु भएको युद्धले लाखौँ मानिसको ज्यान लिएको र गम्भीर मानवीय संकट निम्त्याएको थियो ।

    सन् २०२२ मा युद्धविराम भए पनि पछिल्लो समय पुनः हिंसात्मक गतिविधि बढ्दै गएको छ ।

    यसले क्षेत्रीय सुरक्षा र साउदी अरबको आर्थिक गतिविधिमा थप चुनौती सिर्जना गरेको छ । –सीएनएनए

    प्रतिक्रिया दिनुहोस्
    images
    images