images
images
  • अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउँदै सरकार

    काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल बनाउन सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउने प्रयास गरिरहेको बताएको छ । काठमाडौंस्थित इजरायली राजदूतावासमा मङ्गलबार आयोजित ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयक कार्यक्रममा उहाँले अनुसन्धान र नवप्रवर्तनलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । यसैका लागि सरकारले छुट्टै मन्त्रालय स्थापना गरेको उल्लेख गर्दै उहाँले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याइएको जानकारी दिए ।

    मन्त्री पुनले प्रधानमन्त्री पनि अनुसन्धान र नवप्रवर्तनमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने पक्षमा दृढ रहेको बताउए । उनका अनुसार सरकारले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

    कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गरेको थियो । दूतावासद्वारा जारी विज्ञप्तिअनुसार उहाँले ज्ञान आदानप्रदान र संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा सहभागी चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले नेपाल–इजरायल सम्बन्धबारे चर्चा गर्दै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विभिन्न आयामबारे जानकारी गराएको थियो । प्रतिनिधिमण्डलले नेपालको भौगोलिक बनोट र अनुकूल मौसमलाई आधार मान्दै नेपाललाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images