काठमाडौं – वासिङ्टन, अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता कम्पनी नभिडियालाई ‘असल कर्पोरेट नागरिक’ भन्दै बचाउ गरेका छन् । यद्यपि, उक्त कम्पनीमाथि सङ्घीय अनुसन्धान भइरहेको छ वा छैन भन्ने विषयमा भने उनले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
ब्लान्चेले पुनः पदमा फर्किएका नभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङको सुरक्षा अनुमति पत्र (सेक्युरिटी क्लियरेन्स) को अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताए । हुआङको पुनर्बहालीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नताबारे अमेरिकी सांसदहरूले जवाफ मागिरहेका बेला उनको यस्तो भनाइ आएको हो । बिबाहोत्तर सम्बन्धका खुलासाहरू सार्वजनिक भएपछि पद छाड्न बाध्य भएका हुआङलाई दुई साताभन्दा कम समयमै पुनः जिम्मेवारीमा फर्काइएको थियो । उनका सम्बन्धहरूमा चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँगको सम्बन्ध पनि रहेको बताइएको छ ।
मंगलबार न्याय मन्त्रालय वा सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले हुआङमाथि अनुसन्धान गरेको थियो कि थिएन भनेर पटक–पटक सोध्दा ब्लान्चेले भने, ‘तपाईँ के कुरा गर्दै हुनुहुन्छ, मलाई थाहा छैन ।’ हुआङ आगामी साता अमेरिकी संसद् (कङ्ग्रेस) मा उपस्थित हुने कार्यक्रम अझै कायम छ । त्यहाँ उनलाई चीनको जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्ध र त्यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे प्रश्न गरिनेछ। ती महिला सिंगापुरस्थित नभिडियाको कर्पोरेट ग्राहक कम्पनी मेगास्पिडकी प्रमुख थिइन् ।
यसैबिच, अमेरिकी वाणिज्य मन्त्रालयले मेगास्पिडलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको जनाएको छ । उक्त कम्पनीमाथि अत्याधुनिक चिपहरू चीन पुर्याउन सहयोग गरेको आशङ्का गरिएको छ । गत साता वाणिज्य मन्त्रालय र न्याय मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै सन् २०२४ देखि मेगास्पिडमाथि ‘निर्यात नियन्त्रणसम्बन्धी सम्भावित उल्लङ्घन’ को विषयमा अनुसन्धान सुरु गरिएको बताएका थिए । मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ब्लान्चेले न्याय मन्त्रालयमा एकै समयमा ‘सयौँ वा त्योभन्दा बढी’ निर्यातसम्बन्धी अनुसन्धान चलिरहेको बताए ।‘त्यसैले तपाईँले निर्यातसम्बन्धी अनुसन्धान अझै जारी छ भन्नुहुँदा, तपाईँ के कुरा गर्दै हुनुहुन्छ भन्ने मलाई थाहा छैन,’ उनले भने ।
नभिडिया वा हुआङलाई चीनतर्फ चिपहरू अन्यत्रै पठाइएको विषयमा जानकारी थियो कि थिएन भन्ने पत्ता लगाउने प्रयासमा कम्पनीले सहयोग गरेकोमा आफू सन्तुष्ट रहेको सोध्दा ब्लान्चेले भने, ‘नभिडिया असल कर्पोरेट नागरिकबाहेक अरू केही हो भनेर यहाँ उभिएर भन्नुपर्ने कुनै कारण मसँग छैन ।’ उनले थपे, ‘स्पष्ट रूपमा, यदि नभिडिया कुनै आपराधिक अनुसन्धानको लक्ष्य बनेको थियो वा अनुसन्धानको विषय थियो, अथवा उसले हाम्रो अनुसन्धानमा अवरोध पुर्याइरहेको थियो भने राष्ट्रपतिले अमेरिकी जनतालाई दिइरहेको सन्देश त्यस्तो हुने थिएन ।’ ‘मेरो सन्देश पनि त्यस्तो हुनु हुँदैन,’ उनले भने ।
हुआङलाई पुनः जिम्मेवारीमा फर्काइएको घोषणापछि एनभिडियाको सेयर बजार मूल्य तीव्र रूपमा बढेको थियो । मङ्गलवार को उतारचढावपूर्ण कारोबारमा त्यसको केही वृद्धि घट्यो । कम्पनीको सेयर मूल्य मंगलबार झन्डै ६ प्रतिशतले घटेर बन्द भयो । यद्यपि, यो गत साताको अन्त्यमा कायम भएको मूल्यभन्दा अझै माथि थियो । हुआङको पुनरागमनको खबर सार्वजनिक भएपछि सोमबार नभिडियाको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले उकालो लागेको थियो ।
सोमबार नभिडियाको सञ्चालक समितिले अप्रत्याशित निर्णय गर्दै हुआङलाई पुनः पदमा फर्काएको थियो। सञ्चालक समितिका अध्यक्ष हार्भी जोन्सले हुआङको पुनरागमन कम्पनीका सेयर धनी, कर्मचारी, साझेदार र ग्राहकहरूको ‘सर्वोत्तम हितमा’ रहेको बताएका थिए । समितिका अनुसार, उसले अमेरिकी सरकारका उच्च तहका अधिकारीहरूबाट सुझाव तथा प्रतिक्रिया प्राप्त गरेको थियो। साथै, हुआङलाई पुनः जिम्मेवारी दिँदा राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुनेमा आफूहरू विश्वस्त रहेको समितिले जनाएको थियो । सोमबार राष्ट्रपति ट्रम्पले आफूले कम्पनीका सञ्चालकहरूसँग कुरा गरेको र हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन उनीहरूलाई सहमत गराएको बताएका थिए ।
हुआङको पुनर्बहालीले अमेरिकी राजनीतिमा दुवै प्रमुख दलका सांसदहरूमा आक्रोश पैदा गरेको छ । रिपब्लिकन सांसद डन बेकनले हुआङलाई जोगाउने प्रशासनको ‘अस्पष्ट इच्छालाई’ नभिडियाले बेवास्ता गर्नुपर्ने बताएका छन् । रिपब्लिकन सिनेटर पिट रिकेट्सले हुआङको व्यवहारले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता र हिसाबकिताब नखुलेका चिपहरूको विषयमा नभिडियाले जवाफ दिनुपर्ने दायित्वबाट उन्मुक्ति नपाउने बताएका छन् । डेमोक्रेटिक सांसद तथा प्रतिनिधिसभाको निरीक्षण समितिका भावी अध्यक्ष रोबर्ट गार्सियाले नभिडियाको निर्णयमा ट्रम्पको ‘प्रत्यक्ष संलग्नता’ ले राष्ट्रिय सुरक्षा र भ्रष्टाचारसम्बन्धी गम्भीर प्रश्नहरू खडा गरेको बताएका छन् । त्यस्तै, डेमोक्रेटिक सिनेटर रुबेन गालेगोले उक्त घोषणा हुनुअघि कसले कम्पनीको सेयर खरिद वा बिक्री गरेको थियो भन्ने विषयमा कङ्ग्रेसले ‘अनुसन्धान गर्नुपर्ने’ बताएका छन् ।






















