काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । भैरहवा हवाईमार्ग, अयोध्या–जनकपुर रेल सेवा र दुई देशबीच पर्यटकीय गन्तव्य जोड्ने सर्किट विस्तार गर्न सके भारतीय पर्यटकको नेपाल आगमन दोब्बर बनाउन सकिने उनीहरूको अपेक्षा छ ।
प्रधानमन्त्रीको भ्रमणदलमा व्यावसायिक प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजङ्ग पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै भ्रमणले पर्यटन क्षेत्रका लागि नयाँ अवसर सिर्जना गरेको बताएका हुन् ।
वक्तव्यमा दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी र १० बुँदे अवधारणापत्रमा जनस्तरको सम्बन्ध विस्तारसँगै पर्यटन क्षेत्रको महत्व र यसबाट हासिल गर्न सकिने आर्थिक समृद्धिको विषय समेटिनु सकारात्मक रहेको उल्लेख छ ।
नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत बिजनेस राउन्ड टेबलमा पनि दुवै देशका उद्योगी तथा व्यवसायीको सहभागिताबीच द्विपक्षीय पर्यटन प्रवर्द्धनले प्राथमिकता पाएको उनीहरूले जनाएका छन्। भ्रमणका क्रममा सहभागी पर्यटन व्यवसायीहरूले भारतीय समकक्षी तथा सरोकारवालासँग नेपालको पर्यटन विकास र व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको वक्तव्यमा उल्लेख छ।
व्यवसायीहरूले अयोध्या–जनकपुर रेल सेवा सञ्चालनलाई नेपालको धार्मिक पर्यटन विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । यसले जनकपुरसहित नेपालका अन्य पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
वक्तव्यमा भनिएको छ, “भ्रमणका अवसरमा दुई देशबीच भएको समझदारीका १० बुँदामध्ये अयोध्या–जनकपुर रेल सञ्चालनले जनकपुरलगायत नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पार्नेछ ।”
व्यवसायीहरूले यस अवसरको पूर्ण लाभ लिन संघीय तथा प्रदेश सरकार र निजी क्षेत्रले संयुक्त रूपमा योजनाबद्ध पहल गर्नुपर्नेमा जोड दिएका छन् । जनकपुर आउने भारतीय पर्यटकलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन र लुम्बिनीलगायत गन्तव्यसम्म पुर्याउने गरी पर्यटन प्याकेज, यातायात सुविधा र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
भैरहवा हवाईमार्गको सहजता, अयोध्या–जनकपुर रेल सम्पर्क र धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यबीचको सञ्जाल विस्तार गर्न सके भारतीय पर्यटकको नेपाल आगमन उल्लेख्य रूपमा बढाउन सकिने व्यवसायीहरूको अपेक्षा छ ।–गोर्खापत्र






















